पहिरोले वडा कार्यालय र स्वास्थ्य चौकि जोखिममा
असार २५ (२०८२), चौतारा । बर्षा सुरु भएसंगै पहिरोका कारण चौतारा साँगाचोकगढी नगरपालिकाको १ नम्बर वडा कार्यालय, स्वास्थ्य चौकी र स्थानीयको घर जोखिममा परेको छ ।

नगरपालिका–१ स्याउलेमा १९ गते राती पहिरो जाँदा स्थानीय संरचनामा जोखिम जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रहरीका अनुसार असार १९ गते राति करिब ११ बजे परेको अविरल वर्षाका कारण पहिरो खस्दा वडा नं. १ को कार्यालय र नजिकै रहेको स्वास्थ्य चौकी सिधै जोखिममा परेको हो । त्यस्तै, स्थानीय केशबलाल श्रेष्ठको तीनतले पक्की घर पनि पहिरोको प्रत्यक्ष चपेटामा परेको छ । उक्त घरको एक झ्याल र अगाडिको फलाम तथा जस्ताले बनेको छाप्रोमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

घटनापछि जिल्ला प्रशासन कार्यालय अन्तर्गतको जिल्ला विपद् व्यवस्थापन समितिबाट तत्कालै टोली परिचालन गरिएको छ । जोखिममा रहेका संरचना तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि सम्बन्धित निकायसँग अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव खरेलले बताए ।
वडा कार्यालय, स्वास्थ्यचौकी तथा स्थानीयको घर समेत पहिरोको कारण जोखिम रहेको वडा नम्बर १ का वडाअध्यक्ष युवलाल श्रेष्ठले सिन्धुज्वालालाई जानकारी दिए । प्रभावित स्थानमा सतर्कता अपनाउन र थप क्षति हुन नदिन सरोकारवाला निकायलाई आग्रह गरिएको उनले बताए । हालको मौसमी अवस्था हेर्दा पहिरोको थप जोखिम कायमै रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सचेत रहन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालयको भनाई छ ।
स्मरण रहोस उक्त वडा कार्यालय भवन गत साल मात्रै निर्माण सम्पन्न भएर कार्यालय प्रयोजनमा ल्याइएको थियो ।

