काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु
१ जेठ (२०८२), काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका शून्य बेरुजु कायम गर्न सफल भएको छ ।
महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आफ्नो ६२ औं वार्षिक प्रतिवेदनमा स्थानीय तहतर्फ महाभारत गाउँपालिकामा शून्य बेरुजु देखिएको हो ।
महालेखा परीक्षकको रिपोर्ट अनुसार, गाउँपालिकाले १ अर्ब २७ करोड ९४ लाख रुपैयाँको लेखापरीक्षण गर्दा शून्य बेरुजु देखिएको हो ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार अघिल्लो वर्ष पनि पालिकाको बेरुजु शून्य थियो । यसले गाउँपालिकाको आर्थिक स्थिरता दर्शाउँछ । अध्यक्ष जिम्बाले देशभरिमै आफ्नो गाउँपालिका एक मात्र शून्य बेरुजु भएको पालिका भएको समेत दावी गरे । गाउँपालिकाकाे निकै प्रयास र प्रयत्नद्वारा दाेस्राे पटक पनि गाउँपालिका बेरूजु शून्य बनाउन सफल भएकाे बताए । उनका अनुसार गाउँपालिकाले नियमसम्मत ढंगले याेजनाका कामहरूलाई चुस्त,पारदर्शी र रितपुरक कागज प्रक्रियाका आधारमा सम्पन्न गराएर मात्र भुक्तानी दिने गरेका कारण बेरूजु शून्य भएकाे हाे । गाउँपालिकाले हरेक याेजनाहरूलाई गाउँसभा तथा कार्यपालिकाकाे बैठकबाट पास गरेर सम्झाैताका आधारमा मात्र भक्तानी दिने गरेकाे उनकाे भनाई छ ।
स्मरण रहाेस गत साल देशभरबाट स्थानीय ५ स्थानीय तह बेरूजु शून्य रहेकाेमा यसपटक महाभारत गाउँपालिका मात्रै बेरूजु शून्य हुन सफल भएकाे हाे ।

