क्रिकेट खेललाई प्राथमिकता दिंदै हेलम्बु गाउँपालिका

१६ माघ, किउल । क्रिकेट खेलको राष्ट्रिय स्तरमै महत्व बढ्दै गईरहेको अवस्थामा स्थानीय तहले समेत त्यसलाई प्राथमिकता दिएका छन् । क्रिकेट खेलको विकासलाई स्थानीय तहमै बजेटको खेल प्रर्वद्वन गर्ने जमर्को सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका रहेको छ ।

सिन्धुपाल्चोकमा १२ स्थानीय तहमध्ये क्रिकेट खेललाई कार्यक्रममै समावेश गर्ने हेलम्बु गाउँपालिका सम्भवत पहिलो स्थानीय तह भएको छ । क्रिकेट खेलको विकास र प्रवद्र्धनको लागि हेलम्बु गाउँपालिकाले विद्यालय स्तरमा खेलको प्रशिक्षण तथा खेलको आयोजना गर्न लागिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

उनका अनुसार क्रिकेट खेल तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सिन्धुपाल्चोक क्रिकेट संघ र हेलम्बु गाउँपालिका बीच मंगलबार सम्झौता भएको हो । विद्यालय स्तरमा क्रिकेटको विकास र प्रर्वद्वन स्वरूप सिन्धुपाल्चोक जिल्लामै पहिलो पटक आयोजना गर्न लागिएको पालिका अध्यक्ष शेर्पाको दावी छ ।

मंगलबार हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्यालेज शेर्पा र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघका अध्यक्ष विजयकुमार धिताल बीच सम्झौता भएको थियो । सम्झौता भएसंगै स्थानीय तहमा क्रिकेट खेलको विकास हुने गाउँपालिका अध्यक्ष शेर्पाको ठहर छ ।