मेलम्ची–१० मा शिक्षामा ऐतिहासिक फड्कोः कक्षा ५ सम्म अनिवार्य अंग्रेजी माध्यम लागू हुने
चैत्र २३, मेलम्ची । मेलम्ची नगरपालिका–१० मा शिक्षा क्षेत्रलाई आधुनिक र गुणस्तरीय बनाउने उद्देश्यसहित महत्वपूर्ण तथा ऐतिहासिक निर्णयहरू गरिएको छ । आइतबार हिरादेवी आधारभूत विद्यालयमा सम्पन्न वडा शिक्षा समिति मेलम्ची–१० को बैठकले शैक्षिक सुधारका लागि बहुपक्षीय निर्णयहरू पारित गरेको हो ।

बैठकमा वडा अन्तर्गतका सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो । बैठकले आगामी शैक्षिक सत्र २०८३ देखि कक्षा नर्सरीदेखि कक्षा ५ सम्म सबै विद्यालयहरूमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, विद्यालयहरूमा आवश्यक पाठ्यपुस्तक तथा होमवर्क डायरी खरिदका लागि वडा कार्यालयले आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ। विद्यार्थीहरूको समग्र प्रस्तुति सुधार गर्न ड्रेस, जुत्ता, मोजा, टाइ, बेल्ट र परिचयपत्र -क्ष्म् ऋबचम) अनिवार्य गर्ने तथा यसबारे अभिभावकलाई जानकारी दिन अभिभावक भेला आयोजना गर्ने सहमति पनि गरिएको छ ।

शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न २०८३ वैशाखको पहिलो सातादेखि विशेष तालिम कार्यक्रम सञ्चालन गरिने शितलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश चापागाईंले जानकारी दिनुभयो । साथै, विद्यालयमा नियमितता र अनुशासन कायम गर्न तथा अभिभावकहरूको सक्रिय सहभागितामा विद्यालय सुधार कार्यक्रम अघि बढाइने निर्णय गरिएको वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक अमृत खनालले बताउनुभयो ।
अंग्रेजी माध्यम कार्यान्वयनलाई प्रभावकारी बनाउन ५ सदस्यीय तयारी समिति समेत गठन गरिएको छ । यस्ता निर्णयहरूले मेलम्ची–१० को शिक्षा क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको अध्यक्ष खनालले बताउनुभयो । वडा भित्रका तथा बाहिरी क्षेत्रका अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकका विद्यालयहरूमा भर्ना गराउन आग्रह गरिएको छ ।
वडा शिक्षा समितिले सम्पूर्ण अभिभावक, शिक्षक तथा सरोकारवालाहरूलाई यस अभियानमा साथ, सहयोग र सकारात्मक सहभागिता जनाउन हार्दिक अपिल गरेको छ ।

