अब हेलम्बुमै भव्य अस्पताल, गाउँपालिकाद्वा १५ शैया अस्पताल निर्माण सम्पन्न
चैत्र १, किउल । पर्यटकीय क्षेत्र हेलम्बुमा भव्य अस्पताल निर्माण भएको छ । हेलम्बुवासीका लागि १५ शैया क्षमताको अस्पताल निर्माण सम्पन्न भएसंगै हेलम्बु क्षेत्रका बासिन्दाले सहज रुपमा स्वास्थ्यसेवा पाउने भएका छन् ।
दुर्गम भौगोलिक अवस्थाका कारण सामान्य उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता झेल्दै आएका हेलम्बुवासीहरू अब आफ्नै क्षेत्रमा आधारभूत तथा आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्ने अवस्थामा पुगेका हुन । अस्पताल निर्माण सम्पन्न भएसँगै स्थानीयस्तरमै स्वास्थ्य सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ ।
उक्त अस्पताल सञ्चालनमा आएपछि आकस्मिक सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा, सामान्य उपचार लगायतका आधारभूत स्वास्थ्य सुविधाहरू हेलम्बुवासीले आफ्नै गाउँपालिकाभित्रै प्राप्त गर्न सक्ने हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
स्थानीय नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ आफुले सुविधा सम्पन्न उक्त अस्पताल निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताए । अस्पताल सञ्चालनसँगै हेलम्बु क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार आउने उनले ठोकुवा गरे ।
स्थानीय स्तरमा विकासका काम नभएको भन्ने आलोचनाबीच अस्पताल निर्माण सम्पन्न हुनु हेलम्बु गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको जानकारहरु बताउँछन् । जिल्लाको १२ स्थानीय तहमध्ये हेलम्बु गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै परिवर्तन ल्याएको स्थानीय बताउँछन् ।

