एक्लेबेशीमा माझी समुदायले धुमधामका साथ मनाए ‘लदि पुजा’(फोटो फिचर सहित)
दिनेश दुलाल
१९, फागुन (२०८२), एक्लेबेसी (सिन्धुपाल्चोक) । मंगलबार माझी समुदायको प्रमुख पर्व मध्यको एक लदि पुजा अर्थात पानीलाई पुजा गर्ने दिन हो । पानीसँग सबैभन्दा निकट रहने माझीहरूले हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार यो पुजा मनाउँछन् । यसै सन्दर्भमा सिन्धुपाल्चोकका माझी समुदायले एक्लेबेशीमा धुमधामका साथ ‘लदि पुजा’ मनाएका छन् ।

गतसाल संघीय सांसद, स्थानीय जनप्रतिनिधि तथा राष्ट्रिय कलाकार सहभागी भएर मनाइएकोमा यसपटक प्रतिनिनिधिसभा चुनावको दुईदिन अगाडि आरचारसंहिता लागु भएका कारण औपचारिक कार्यक्रम भने नगरिएको नेपाल माझी उत्थानसंघको केन्द्रीय सदस्य केदार माझीले बताए । कोशीले मानवीय क्षति नहोस, बालीनाली नष्ट नहोस भनेर बाबुबाजेले गरेको प्रचलनलाई स्थापित गर्न निरन्तरता दिएको उनको कथन छ ।

गत साल माझी समुदायको बाहुल्यता रहेको बोर्डगाउँ स्थित ईन्द्रावती बगरमा उलेख्य माझी समुदायको उपस्थितिमा साँस्कृतिक कार्यक्रम सहित मनाईएको लदि पुजा यसपटक एक्लेबेशीमा साँस्कृतिक मनोरञ्जन सहित मिठान्न खानपिन गरेर मनाइएको कोशी पूजा संरक्षण समितिका सिन्धुपाल्चोक अध्यक्ष अमृत माझीले बताए ।

कोशी पूजा संरक्षण समितिको आयोजनामा बर्षेनी मनाउने गरिएको कोशी अर्थात लदि पूजा मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका सम्बन्धित बासिन्दाले आलोपालोसंग मनाउने प्रचलन थालिएको उनले बताए । आफ्नै भाषा आफ्नै संस्कृति र भेषभुषा आफ्नै भएको सिमान्तकृत माझी समुदाय भएको कारणले सबैभन्दा ठूलो महान चाड ‘लदि पूजा’ लाई विशेष चाडको रुपमा मनाएको बताए । लदि पूजाको दिन कोशीमा गएर पूजा गरेपछि जनधनको क्षति कम हुने विश्वासका कारण पूजाआज गरिएको कोशी पूजाका पुजारी प्रकाश माझीले बताए ।

लदीपूजालाई कोसीपूजा भनेर पनि चिनिन्छ । माझी भाषामा नदीलाई ‘लदि’ भनिन्छ । माझी समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा लदीपूजालाई लिइन्छ । माझी समुदायले नदीलाई मामा र माझिलाई भाञ्जाको नातासम्बन्धको रुपमा लिने चलन छ । त्यसैले पनि उक्त समुदायमा यो पर्वको विशेष महत्व छ ।

माझि समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको लदिपूजा दैवी विपत्तिबाट सुरक्षित रहनको लागि मनाउने प्रचलन छ । यो पर्वमा नदी, खोलामा पूजा गर्ने, कला र संस्कृति झल्कने झाँकी समेत प्रदर्शन हुने गर्छ । ३३ कोटी देवी देउताहरू भाकेर नदी किनारमा नै यस दिन पूजा गरिन्छ । यसरी पूजा गर्दा कृषि औजार, माछा मार्ने जाल, नदी खियाउने औजार लगायत सबै राखेर पूजा गर्ने र बलि पनि चढाउने चलन छ । नेपालमा अन्य समुदाय केन्द्रीत चाडपर्वहरुमा विदा दिने गरेपनि माझी समुदायलाई राज्यले कुनै विदा नदिएको प्रति उनीहरुको दुखेसो छ ।

नदी किनारको असुरक्षित बसोबाससँगै नदीमा माछा मार्ने व्यवसाय नै मुख्य पेशा भएकाले उनीहरुले आफ्नो र आफ्नो समुदायको सुरक्षाको कामना गर्छन् । सो समुदायले आफ्नो संस्कृति र रीतिरिवाजको जगेर्ना गर्ने मूल उद्देश्यका साथ यो पर्व बर्सेनि मनाउँदै आइएको छ ।
पछिल्लो समय माझी समुदायको बाहुल्यता रहेको केही पालिकाहरूले भने सूचना निकालेर एक दिन सार्वजनिक बिदा दिन थालेका छन् । जसमा गत साल सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाले लदि पुजाको दिन सो समुदायलाई सार्वजनिक विदा दिएको थियो । इन्द्रावती नदि आसपास मेलम्ची देखी बन्देउ सम्मका संयौ माझी समुदाय जम्मा भएर मंगलबार साँस्कृतिक कार्यक्रम सहित बन्देउ नजिकै रहेको एक्लेबेशी बगरमा धुमधामका साथ लदि पुजा मनाएका हुन् । कार्यक्रममा स्थानीय कलाकारहरुको बेजेड प्रस्तुती रहेको थियो ।

के हो माझी समुदायको लदी पूजा, कहिलेदेखि मनाउन थालियो ?
माझी जातीको जीवन लदी अर्थात् नदीसँग जोडिएको हुन्छ माझी जातीको जीविकोपार्जन पनि नदी र नदीजन्य पदार्थबाटै हुन्छ । त्यसैले उनीहरू नदीको पूजा गर्छन् । माझी जातीलाई प्रकृति पूजक जातीको उपमा पनि दिइन्छ ।
किनकी उनीहरू खोला नदीलाई पुज्छन् । लदी(नदी) पूजा उनीहरूको प्रमुख चाड हो । माझी समुदायले लदी पूजा हरेक वर्षको फागुन तेस्रो मंगलबार (उनीहरूकै प्रचलित भाषामा साइँली मंगलबार) का दिन देशव्यापी रूपमा मनाउने गर्दछन् । यो वर्षको लदी पूजा फागुन १९ गते मंगलबार परेको हो ।
कहिलेदेखि मनाउन थालियो लदी पूजा ?
लदी पूजा कहिलेदेखि मनाउन थालियो त्यसको ठ्याक्कै समय भन्न सकिन्न । तर औपचारिकरूपमा लदी पूजा गर्न थालेको भने १८ वर्ष पुगेको नेपाल माझी उत्थान संघका केन्द्रीय सदस्य केदार माझी बताउँछन् ।
‘लदी पूजा पूर्वजहरूले परापूर्वकालदेखिनै मनाउँदै आइरहेका थिए । तर औपचारिक रूपमा भने हामीले १८ वर्षदेखि मनाउँदै आएका छौँ ’ उनले भने ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ एक्लेबेसीका स्थानीय रामबहादुर माझी भन्छन् ‘लदी पूजा कहिलेदेखि मनाउन थालियो यसको ठ्याक्कै महिना, दिन र साल भन्ने छैन । यद्यपि, मछ्यगन्धाबाट उत्पत्ति भएको माझी समुदायले परापुर्वकालदेखि नै लदी पूजा गर्दै आएको किंवदन्ती छ ।’
केदार माझीका अनुसार रामेछाप, काभ्रे र सिन्धुपाल्चोकका केही माझी जातीले आफ्नो चाडको रूपमा मात्रै लदी पूजा मनाउने गरेकोमा २०६४ सालपश्चात नेपालका विभिन्न ठाउँका माझी समुदायले लदी पूजालाई राष्ट्रिय चाडको रूपमा मनाउन थालेको हो ।
त्यसैको सिको गरेर पछिल्लो केही बर्षदेखि सिन्धुपाल्चोकका माझी जातीले यस पूजालाई धुमधामका साथ मनाउँदै आइरहेको कोशी पुजा संरक्षण समिति सिन्धुपाल्चोकका अध्यक्ष अमृत माझी बताउँछन् ।
लदी पूजा किन गरिन्छ ?
लदी पूजामा माझी जातीहरूले बगेको पानीलाई पूजा गर्छन् । लदी भनेको माझी भाषामा कोशी अथवा नदी हो । नदी, कोशीको पूजा गर्नु नै लदी पूजा हो । माझी समुदायको जीवन नदीसँग जोडिएको हुन्छ त्यसैले पनि माझी जातीले नदीको पूजा गर्छन् ।
‘नदीमा काम गर्नुपर्ने, नदीमै आश्रित रहनुपर्ने जीविकोपार्जनको मुख्य थलो, आम्दानीको स्रोत जे भने पनि कोशी अथवा नदी नै रहेकाले नदीले आफुहरूलाई जोगाइराखोस् भन्ने हेतुसहित लदी पूजा गर्ने गरिन्छ ।’ मेलम्ची नगरपालिका–१२ का बुद्वीकुमार माझी बताउँछन् ।
तर पछिल्लो समय माझी जातीको संस्कार र संस्कृति लोप हुँदै गइरहेको छ । जसको संरक्षण र जर्गेना गर्न पनि लदी पूजालाई राष्ट्रिय चाडको रूपमा मनाउनु पर्छ भन्ने आवाज पनि हिजोआज उठ्न थालेको छ ।
कसरी मनाइन्छ लदी पूजा ?
लदी पूजाका लागि माझी समुदायले एक हप्ता अगाडी नै मानिसहरूको संख्या आकलन गरेर प्रत्येक घरबाट रकम र चामल उठाउँछन् । सो चामललाई महिला माझीहरूले जाँड(मुन) बनाउँछन् । रकमबाट पाठी, राँगा लगायत किन्छन् ।
लदी पूजाको अघिल्लो दिन माझी समुदायबाट नै दुई जना पुजारीको व्यवस्था गरिन्छ । उनीहरूले घाम अस्ताएपछि केही पनि खान पाउँदैनन् जसलाई उपासे बस्नु भनिन्छ ।
लदी पूजा गर्न गाईको गोबर, ठुलो धँगेरीको सात वटा रुख, टोटलाको फुल (अण्डा), डुंगा, जाल, एक लोटा जाँड, आठ रेखी, सात कोठा, भेटी सात वटा, अक्षता, अबिरलगायतका सामग्री चाहिन्छ । पूजामा विभिन्न जीवजन्तुहरूको बलि पनि दिइन्छ । जसलाई भोक चढाउनु भनिन्छ ।
कसैले भने आफ्नो र आफ्नो परिवार वा अन्य कुनै प्रायोजनका लागि केही कुरामा मन्नत मागेका हुन्छन् अर्थात् भाकल गरेका हुन्छन् । सोही भाकल फुकाउन पनि लदी पूजामा माझीहरूले जीवजनावरको बली दिने गर्दछन् ।
यसरी पूजामा बली दिइएका जिवजन्तुको कलेजो, मुटु लगायत अंग अगेनामा पोलेर देवी देवतालाई चढाउँछन् । माझी समुदायका गाउँभरिका मानिसहरूमा बलि दिइएका जीवजन्तुको मासु प्रसादको रूपमा थोरै–थोरै भएपनि भाग लगाएर पु¥याइदिनुपर्ने चलन रहेको पाइन्छ ।
लदी पूजाको यो समयमा बोलचाल नभएका छरछिमेक दाजुभाइबीच पनि अनिवार्य रूपमा बोलचाल गर्नुपर्ने हुन्छ । यस कारण यसलाई मेलमिलापको पर्वको रूपमा पनि माझी समुदायले लिने गरेका छन् ।
खोला किनारका सबै काम सकिसकेपश्चात् घाटबाट गीत गाउँदै पुजारीको घरसम्म लावालस्कर लागेर जान्छन् । पुजारीको घरमा महिला माझीहरू बसिरहेका हुन्छन् र उनीहरूले खोला किनाराबाट आएकाहरूलाई सुनपानीले छर्केपछि मात्र शुद्ध हुने माझी उत्थान समितिकी वाग्मति प्रदेश सदस्य कविता माझी बताउँछिन ।

