सिन्धुकोट त्रिवेणीघाट स्थित सिद्वेश्वर महादेव मन्दिरमा साँस्कृतिक कार्यक्रम सहित भव्य मेला सम्पन्न
दिनेश दुलाल
मंसिर ३, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका अन्र्तगत सिन्धुकोट त्रिवेणी घाट स्थित ऐतिहासिक सिद्वेश्वर महादेव थानमा भव्य मेला सम्पन्न भएको छ । पृथ्वीनारायण शाहले राज्य एकिकरण गर्न यहि मन्दिरमा आएर दर्शन गरेपछि सिद्व भएको किवदन्ती बोकेको ऐतिहासिक तथा पुरातात्विक मन्दिर सिद्वेश्वरमा पछिल्लो दश यताकै भव्य मेला लागेको त्याहाँका स्थानीयको भनाई छ ।

नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ तथा ६ र १२ नम्बर वडाको केही भाग र काठमाडौं भारे गाउँ देखिको ऐतिहासिक संगम स्थल त्रिवेणी घाटमा रहेको सिद्वेश्वर माहादेव मन्दिर परिसरमा शतबीज छर्ने, बत्ती बाल्ने तथा साँस्कृतिक कार्यक्रम मेलम्ची नगरपालिकाको सहयोग तथा नम्बर ५ वडाको आयोजनामा भएको हो ।

उक्त साँस्कृतिक कार्यक्रमको ५ नम्बर वडाअध्यक्ष राजु रायमाझीले बत्ती बालेर उदघाटन गरेका थिए । संयौबर्ष देखिको उक्त मन्दिरमा बाल चतुदर्शीका अघिल्लो दिन भक्तजनहरुको उल्लेख्य सहभागी हुनेगरेपनि पछिल्लो समय स्थानीय सरकारको वेवास्ताको कारण ओझेलमा परेको थियो । २०७९ सालमा आफु वडाअध्यमा निर्वाचित भएर आएपछि पहिलो बर्षको कार्यकालमै मन्दिरमा बत्ती, भक्तजनलाई बत्ती बाल्ने व्यवस्था र मन्दिर वरपर सरसफाई लगाएत कार्यबाट सुरुवात गरिएको वडाअध्यक्ष रायमाझीको कथन छ ।

तेस्रो बर्षमा वाग्मति प्रदेशले केही बजेट दिएका कारण कम्पाउन उठाउन तथा मन्दिर परिसर (मैदान) सम्याउने काम गरिएको उनले बताए । उनका अनुसार यसपटक नगर प्रमुखलाई विशेष आग्रह गरेपछि मेलम्ची नगरपालिकाको १ लाख ५० हजार सहयोगमा सिद्वेश्वरी महादेव मन्दिरमा उल्लेख्य जनताको उपस्थितिमा साँस्कृतिक कार्यक्रम हुन सकेको हो । वडाको पछिल्लो कार्यले समुदायमा निकै उत्साहित छाएको उनले बताए । मन्दिरमा तीन पुस्ता देखिको पुजारी रहेपनि पछिल्लो पटक गुठी सञ्चालनमा समस्याका कारण राख्न नसकिएको उनले बताए । नियमित पुजारी राख्ने सम्मको नयाँ भवनको लागि प्रदेश सकारसंग डिपिआर सहित निवेदन पेश गरिएको वडाअध्यक्ष रायमाझीले बताए ।

१२ बर्षको उमेरदेखि सिद्वेश्वरी महादेव मन्दिरको पुजारी रहेर ७० बर्ष सम्म काम गरेका फटिकनाथ पौडेलले आफ्नो बाजेको पाला देखि उक्त मन्दिरको पुजारी रहेपनि स्थानीयको वेवास्ताको कारण ऐतिहासिक मन्दिर ओझेलमा परेको बताउँछन् । उनका अनुसार पृथ्वीनारायण शाहले एकिकरणको क्रममा शिवपुरीमा बसेर भक्तपुरलाई कब्जा गर्न नसकेपछि यहि सिद्वेश्वरी माईको दर्शन गरेपछि जितेको किमदन्तीमा उल्लेख छ । धेरै पहिले उक्त मन्दिरमा दशांैं हजारको जात्रा लाग्ने गरेको उनको भनाई छ । २६ मुरी ८ पाथी ३ माना ६ मुठी धान समेत गुठीबाट उठाउने गरिएकोमा पछिल्लोपटक यो चलन हराउँदै गएको उनको भनाई छ ।

मेलम्ची नगरपालिका अन्र्तगत पाँचवटा वडाहरुको संगम स्थल त्रिवेणी घाटमा निर्माण भएको सिद्वेश्वरी महादेवको मन्दिर साँस्कृतिक सम्पदाको रुपमा रहेको स्थानीय समाजसेवी मधुसुदुन सिग्देलले बताए । ऋषिमुनिहरुले ध्यान गरेर सिद्वि प्राप्त गरेको यस ठाउँलाइ सिद्वेश्वरी माहादेवको नामाकरण भएको उल्लेख गर्दै सिग्देलले स्थानीय परम्परा, पृष्टभूमि र अस्थित्व मन्दिरसंग जोडिएको बताए । पुरानो परम्परा हराउँदै गएपनि ५ नम्बर वडाको पहलमा साँस्कृतिक पर्वलाइ पुनः थापित गर्न लागिएको प्रति उनले खुशी व्यक्त गरे ।

५ नम्बर वडाअध्यक्ष राजुको नेतृत्वमा सिद्वेश्वर महादेव मन्दिरको संरक्षण तथा साँस्कृतिक पर्वलाई निरन्तरता दिएको प्रति जनता उत्साहित भएको मेलम्ची– १ की वडा सदस्य दोधकुमारी चौलागाईले बताईन । मन्दिर सरसफाई तथा तिर्थालुहरुको व्यवस्थापनमा वडाको कार्यलाई स्थानीयले राम्रोसंग साथ दिएको ५ नम्बर वडाका समाजसेवी टिकाजङ रायमाझीको कथन छ । उक्त मन्दिरमा मंगलबार साँझ सयौं स्थानीयले पित्रृको नाममा बत्ती बालेका थिए । सोही साँझ राष्ट्रिय ख्याति प्राप्त कलाकार, सानु केसी, राजन चौलागाई खैराते, भिमसेन खतिवडा, रुद्र केसी र सविना ढुङगाना लगाएतले बेजोड प्रस्तुती दिएका थिए । भक्तजनसंगै कलाकारहरु रातभरी जागरम बसेर विभिन्न साँस्कृतिक प्रस्तुतीले मनोरञ्जन प्रदान गरेका थिए । स्थानीय युवायुवती तथा वृद्ववृद्वाहरु समेत साँस्कृतिक कार्यक्रममा खुब रमाएका थिए । बाला चतुदर्शी व्रत बसेका बर्तालुहरुले बुधबार मन्दिर नजिकै रहेको त्रिवेणी घाट स्थित सिन्धुखोलामा बत्ती सेलाई मन्दिर वरपर शतबीज छरेका थिए ।
मन्दिरका ७० बर्ष सम्म मन्दिरका पुजारी रहेका फटिकनाथ पौडेलको सभापतित्वमा भएको उक्त साँस्कृतिक मनोरञ्जन सहितको औपचारिक कार्यक्रममा, जनप्रतिनिधि, स्थानीय सामाजिक व्यक्तित्व लगाएतले सम्बोधन गरेका थिए ।




