ठूलोसिरुवारीमा कार्तिक २ र ३ गते खेलकुद महोत्सव हुँदै

असोज ३१, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलोसिरुवारीमा विभिन्न विधामा खेलकुद महोत्सव हुने भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका–१३ को आर्थिक सहयोग तथा आयोजनामा तेस्रो ठूलोसिरुवारी खेलकुद महोत्सव नगर मावि स्तरीय जुनिएर कराते प्रतियोगिता २०८२ हुन लागेको हो ।

कार्तिक २ र ३ गते सहिद स्मृति खेलकुद मैदान नर्सिङडाँडामा हुने उक्त खेलकुद महोत्सव नगर शिक्षा, युवा तथा खेलकुद शाखा, नगर खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिको समन्वयमा हुन लागेको हो । त्यस्तै सहआयोजक वडा स्तरीय खेलकुद विकास समिति १३ नम्बर वडा रहेको छ ।

खेलकुमा फुटबल, भलिबल, सटफुट, कराते, ज्याब्लिन थ्रो र दौड लगाएत खेलहरुको प्रतियोगिता हुने एशियन गेमका प्रशिक्षक गंगालाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार १० हजार प्रथम पुरस्कार रहेको उक्त प्रतियोगिताको लागि खेलाडीहरुले असोज ३० गते देखि कार्तिक १ गते दुई बजे सम्म टिम दर्ता गराईसक्नुपर्नेछ । टिम दर्ताको प्रक्रियामा खेलाडीहरु सम्पर्कमा आईसकेको वडा स्तरीय खेलकुद विकास समितिका सचिव प्रकाश गिरीले जानकारी दिए ।

आयोजकका अनुसार कार्तिक २ गते हुने खेलकुदको उदघाटन वाग्मति प्रदेश पूर्व सामाजिक विकासमन्त्री तथा प्रदेश सांसद युवराज दुलालले गर्नेछन् ।