जुगलमा स्थानीय नै जागे श्रम अभियानमा, सयौंको सहभागितामा श्रम पार्क बन्दै

दिनेश दुलाल
असोज २३, चनौटे । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा यतिबेला श्रम अभियान चलेको छ । ‘आफ्नो पालिका आफैं बनाऔं, गाउँमा पर्यटक भित्र्याउ’ भन्ने सोचका साथ स्थानीय युवाहरु यतिबेला सामाजिक कार्यमा खटिएका छन् ।

जुगल गाउँपालिका वडा न ५ का समाजसेवी सोम छिरिङ तामाङ र गणेशबहादुर श्रेष्ठको नेतृत्वमा ‘समृद्व जुगल निर्माणको लागि गरौं’ नाराका साथ श्रमदान अभियानमा युवा, वृद्व, महिला सबै एकैसाथ लागेका छन् । श्रम अभियानको प्रारम्भ गरि जुगल गाउँपालिकाको वडा नम्बर १, ५ र बलेफी गाउँपालिकाको वडा नम्बर १ को नयाँ बस्तिमा मोटरबाटो सरसफाइ गोरेटो बाटो सरसफाइको काम सुरु गरेर थालिएको अभियानका अगुवा सोमछिरिङले बताए । उनका अनुसार उक्त अभियान को सातौ दिनसम्म ३०० जान श्रमदाताहरुले श्रमदान गरेका थिए । उक्त काममा स्थानीय आफैंले खाजाको समेत बन्दोबस्त गरेको उनले सुनाए ।

उत्साहजानक सहभागिता जनाएका श्रम अभियान टोलीले अभियानको आठौ दिनमा जुगल ५ मा रहेको गणेश खोला लुकि झर्नालाई आन्तरिक तथा बाह्य पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि श्रमपार्क निर्माण भइरहेको तामाङले जानकारी दिए । उक्त अभियानमा जुगल गाउपालिका अध्यक्ष रेशम स्याङ्बो, २ न वडा अध्यक्ष चन्द्रकाजी लामा, ५ न वडा अध्यक्ष रबिन्द्र घिमिरे समेत सहभागी भएर हौसला दिएका थिए । पार्क निर्माणमा पालिकाले लगानी गर्ने बचन दिएको उनले सुनाए ।

सोमछिरिङका अनुसार जुगल–५ डबली, च्यानडाडा, टेकनपुरका स्थानीयको बाक्लो सहभागिता रहेको थियो । पार्क निर्माणको लागि गाउँपालिकाले जमिन सम्याउनको लागि जेसिबी उपलब्ध गराइदिएको सोमछिरिङको भनाई छ । उनका अनुसार उक्त अभियान जुगल गाउपालिका भरिनै हुनेछ ।

लामो समय देखी आफुहरुलाई समाज सेवामा समर्पित गर्दै आएका जुगल –५ र १ का युवाहरुले आफ्नो गाउँ टोलमा श्रमदान मार्फत योगदान गरेको प्रति गाउँपालिका अध्यक्ष स्याङबोले खुशी व्यक्त गर्दै धन्यवाद दिए ।

श्रमपार्क निर्माण तथा सरसफाइ अभियानमा आफु पनि निरन्तर सहभागि हुने उनले बचन दिए । जुगल गाउँपालिकाका युवाहरुको श्रम अभियानले छिमेकी पालिकाका युवाहरुमा समेत सकरात्मक प्रभाव परेको स्थानीय बताउँछन् ।