जुगलमा सहिद प्रतिष्ठानका लागि चन्दा उठाएरै जग्गा, संघीय र प्रदेशको बजेटमा भवन निर्माण

दिनेश दुलाल
साउन २८, चनौटे । ‘नेपालमा जुनसुकै पार्टीका कार्यकर्ताहरु चन्दा उठाएर र ठगेरै मात्र खान्छन्’ भन्ने एउटा भाष्य छ समाजमा । तर चन्दा उठाएर व्यक्तिका लागि होइन सामाजिक कामका लागि पनि केही गर्छन भन्ने उदाहरण जुगल गाउँपालिकाका माओवादी कार्यकर्ताले देखाएका छन् ।

नेकपा (माओवादी केन्द्र) जुगल गाउँ कमिटिको पहलमा सहिद प्रतिष्ठान भवनको लागि आवश्यक पर्ने जग्गा त्याहाँका पार्टी कार्यकर्ताले चन्दा उठाएरै किनेका छन् ।

सहिद प्रतिष्ठान भवन भने संघीय र वाग्मति प्रदेश सरकारको बजेटमा निर्माण सम्पन्न भएको जुगल गाउँपालिका अध्यक्ष तथा माओवादी केन्द्र जिल्ला नेता रेशम स्याङबोले जानकारी दिए । उनका अनुसार जुगलका पार्टी कार्यकर्ताले पटक–पटकमा ६ लाख चन्दा उठाएर जग्गा खरिद गरिएको हो । त्यसपछि संघबाट २० लाख र वाग्मति प्रदेश सरकारबाट ४५ लाख गरेर ६५ लाखमा दुई तला आधाको सहिद प्रतिष्ठान भवन ३ बर्षमा सम्पन्न भएको अध्यक्ष स्याङबोले बताए ।

चनौटे स्थित गाउँपालिका कार्यालय नजिकै बनेको सहिद प्रतिष्ठान भवनमा गाउँकमिटि पार्टी कार्यालय समेत रहने उनले बताए ।
त्यसैगरी आगमी हिउँद याममा जुगल गाउँपालिका भरी जनयुद्वमा शहादत प्राप्त गर्ने त्यस भेगका ५ जना सहिदहरुका शालिक समेत चन्दा उठाएरै निर्माण गरिने अध्यक्ष स्याङबोले जानकारी दिए । उनका अनुसार जुगल–१ मा लब सिलवाल, वडा नम्बर २ मा निकेश तामाङ, वडा नम्बर ५ मा कृष्णबहादुर तामाङ, वडा नम्बर ६ मा सुर्य श्रेष्ठ र सरु श्रेष्ठ सहिद भएका थिए ।

स्मरण रहोस जुगल माओवादी केन्द्र गाउँपार्टी कमिटिले त्यस भेगमा जनयुद्वमा लागेर योगदान पु¥याउने कार्यकर्ता, घाईते तथा अपाङगता भएका कार्यकर्तालाई सम्मान गरेको थियो ।