बाहलवाला सांसदलाई वाईपास, निलम्बितलाई हाइहाई

सन्दर्भ ताताेपानी नाका
असार ३२(२०८२), बाह्रबिसे । केही दिन अघि रसुवा तिरकाे भाेटेकाेशी बाढीले केरूङ नाकामा ठूलाे क्षति पुर्याएपछि त्याे नाका पूर्ण रूपमा बन्द छ ।

यता भूकम्प र भाेटेकाेशी बाढीले १० बर्ष अघि क्षति पुर्याएर बल्लतल्ल तंग्रिदै गरेकाे ताताेपानी नाकालाई नेपाल सरकारले वैकल्पिक नाकाकाे रूपमा हेरेकाे छ । व्यापारीहरूले समेत केरूङ नाकाकाे विकल्पकाे रूपमा ताताेपानी नाकालाई राेज्न थालेका छन् ।

तर मितेरी पुल देखि बन्देउ सम्म सडक ठाउँ-ठाउँमा बिग्रिदा सरकारले साेचेकाे जस्ताे छिमेकी मुलुक चीन नेपाल बीच आयात र निर्यात व्यापार साेचेकाे जस्ताे हुन सकेकाे छैन ।
यसै सन्दर्भमा आज बुधबार जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको आयोजना तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समन्वयमा तातोपानी नाका र अरनिको राजमार्गलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रम गरेकाे थियाे । उक्त महत्वपूर्ण छलफलमा साेही क्षेत्रका संघीय तथा प्रदेश सांसदलाई खबरै नगरी कार्यक्रम गरेकाे पाईएकाे छ ।

बरू निलम्बित सांसद माेहनबहादुर बस्नेतलाई प्रमुख अतिथिकाे रूपमा बाेलाएर कार्यक्रम गरिएकाे छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बस्नेत टेरामक्स प्रकणमा निलम्बित भएका छन् । २५ लाख ढराैटी बुझाएका बस्नेतकाे पद अझै निलम्बित अवस्थामा छ ।

ताताेपानी नाकाकाे संवेदनशील विषयमा त्यहि क्षेत्रकाे सांसदलाई वाईपास गरेर निलम्बित सांसदलाई मात्रै बाेलाउनु जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयकाे गम्भीर त्रुटि भएकाे जानकारहरू बताउँछन् । उसाे त जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय समेत विवादमा मुछिएकाेबारे सामाजिक सञ्जालमा समेत टिप्पणी हुन थालेकाे छ । सायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले कार्यक्रममा सहभागिता बारे हस्ताक्षर गरेकाे पत्र सामाजिक सञ्जालमा हालिएकाे थियाे ।

ताताेपानी नाका जस्ताे सार्वजनिक महत्त्वकाे विषयलाई साझा र सन्तुलित बनाउन नसक्नु आयाेजककाे भुल भएकाे उनीहरूकाे ठम्याई छ । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाली सेनाका प्रतिनिधि, व्यापार-व्यवसाय सम्बन्धित संघ संस्थाका प्रतिनिधि र केही सञ्चारकर्मी सहभागी उक्त अन्तरक्रिया कार्यक्रममा कांग्रेसका बाहेक जिल्लाका एमालेे माओेवादी केन्द्र लगाएत कुनै दलका पनि सहभागी थिएनन ।

सिन्धुपाल्चोक उद्योग वाणिाज्य संघकाे मुख्य कार्यालय रहेकाे बाह्रबिसेकाे आफ्नै भवन हलमा उक्त कार्यक्रम भएकाे थियाे । रसुवा नाका बन्द भएपछि तातोपानी नाकामा पर्ने व्यावसायिक चापलाई सहजीकरण र व्यवस्थापन गर्ने तथा बाह्रबिसे देखि कोदारीसम्मको २६ किलोमीटर सडक बाढी पहिरोका कारण पुग्ने क्षती र त्यसको समाधान बारे बृहत छलफल गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले सामाजिक सञ्जाल फेसबुक पेजमा उल्लेख गरेका छन् ।

उनले उल्लेख गरेअनुसार कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेत, बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेत, भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख,तातोपानी भन्सार कार्यालयको प्रतिनिधि, सडक डिभिजन कार्यालय चरिकोटको प्रमुख, जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधि, भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालीका अध्यक्ष लगायत विभिन्न ट्रान्सपोर्ट कम्पनी लगायतले नाकालाई सडक सञ्जाल मार्फत कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर आफ्नो धारणा राखेका थिए ।

सडकलाई अझै व्यवस्थित बनाएर ताताेपानी नाकाकाे व्यापार आयात तथा निर्यातलाई कसरी सहज बनाउन सकिन्छ भनेर व्यापक छलफल र उपायहरू अबम्बन गरिएकाे जिल्ला समन्वय समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्वमन्त्री एवंम निलम्बित सांसद बस्नेतले आफू जस्ताेसुकै अवस्थामा रहेपनि तातेपानी नाकालाई सहज बनाउन लागिपर्ने बताए ।

आज दिउस भएकाे उक्त कार्यक्रमकाे सन्दर्भमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ सांसद माधव सापकाेटासंग फाेन संवाद गर्न खाेज्दा सम्पर्क हुन सकेन ।

यसैबीच उक्त घटनाकाे सन्दर्भमा नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चाेकले प्रेस वक्तव्य नै जारी गरि गम्भीर आपत्ति जनाएकाे छ । पार्टी जिल्ला समन्वय समितिका संयाेजक गाेविन्द पराजुलीले सबै अभिभावकत्व गरेकाे स्वतन्त्र निकाय जिल्ला प्रशासन कार्यालयले नै भष्टचारमा मुछिएका व्यक्तिलाई कार्यक्रममा सहभागी गराएर त्यस क्षेत्रका बहालवाला सांसदलाई वाईपास गरेर अमुक शक्तिकाे पक्षपाेषण गरेकाे आराेप लगाए ।