
एसइई परीक्षामा उत्कृष्ट सहित सिन्धुपाल्चोकका ८९५ विद्यार्थी एकैपटक सम्मानित

दिनेश दुलाल
शनिबार, असार २१, २०८२
बलेफी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट हुने ४ सहित सिन्धुपाल्चोकका ८९५ जना विद्यार्थीहरू एकैपटक सम्मानित भएका छन् ।
सिन्धुपाल्चोक प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य आयोजक रहेको उक्त कार्यक्रमको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का संघीय सांसद माधव सापकोटा ‘सुवोध’ ले व्यानर पढेर कार्यक्रमको उदघाटन गरेका थिए ।
शुक्रबार बलेफीमा आयोजित एक कार्यक्रमका बिच यस वर्षको एसइई परीक्षामा उत्कृष्ट तथा पास हुने विद्यार्थीहरूलाई सम्मान गरेको हो । त्यस अवसरमा उत्कृष्ट एसइईमा ४ जिपिए सहित उत्कृष्ट हुने प्रतिनिधिसभा क्षेत्र नम्बर १ भरीका ८९५ विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो । ४ जिपिए ल्याउने बलेफी गाउँपालिका अन्र्तगत बालशिक्षा माध्यामिक विद्यालय खाडिचौरका मेहोन्दो तामाङ, स्मृति नेपाल र सुवेक्षा श्रेष्ठ रहेकी छिन ।
त्यसैगरी लिसंखुपाखर गाउँपालिका अन्र्तगत रमादेवी माविका फुर्साङ तामाङ रहेका छन् । उनीहरु सहित एसइई परिक्षामा उत्तिर्ण ८९५ जना विद्यार्थीलाई सांसद सापकोटा सहित वाग्मति प्रदेश सांसद द्वोय सरल सहयात्री पौडेल र अमृता नेपालले प्रमाणपत्र सहित सम्मान गरेका थिए । सम्भव त सिन्धुपाल्चोक जिल्लामा यति ठूलो संख्यामा एसइईमा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको घटना पहिलो भएको छ । उक्त कार्यक्रमले सकरात्मक सन्देश दिएको सहभागीले प्रतिक्रिया दिएका छन ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ का संघीय सांसद सापकोटाले आफुले गत निर्वाचनमा मतदाताहरुसंग प्रतिज्ञा गरेअनुसार सिन्धुपाल्चोक १ नम्बर क्षेत्रमा शैक्षिक र सामाजिक क्षेत्रमा नवितम ढंगले कार्यहरु सम्पादन गर्ने बचन दिएको स्मरण गराउँदै यो क्षेत्रको शैक्षिक क्षेत्रको गुणस्तर बढाउनका लागि एकैपटक एसइईमा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको बताए । सम्बन्धित विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिको मिहिनेत र लगनसिलताका कारण एसइईको नतिजा सकरात्मक आएकोमा धन्यवाद दिए । आगमी दिनमा उत्कृष्ट सहित उत्तिर्ण सबै विद्यार्थीलाई मिहिनत पूर्वक लाग्न सुझाए । विद्यार्थीहरुको आगमी यात्रा हौसला सहित रचनात्मक र प्रभावकारिता होस भनेर आफुले यस खालको कार्यक्रम बनाएको स्पष्ट पारे । विद्यार्थीका योग्यता र मिहिनतलाई कदर गरेका छौ भन्ने सन्देश समेत उक्त कार्यक्रमले दिएको ठोकुवा गरे ।
संसद चल्दा निजी विद्यालयका विद्यार्थीहरु मात्रै सहभागी हुन पाउने प्रचलनलाई तोड्दै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई समेत सहभागी हुन पाउने वातावरण आफुले बनाएको समेत सुनाए । अर्को एक प्रसंगमा सांसद सापकोटाले राजनीति गर्नु भनेको गलत हो भन्ने भाष्यलाई चिर्न १ नम्बर क्षेत्रका सबै विद्यालयहरुमा नमुना संसद अभ्यास कार्यक्रम सुरुवात गरिने समेत जानकारी दिए ।
कार्यक्रममा विशेष अतिथि वाग्मति प्रदेश सांसद सरल सहयात्री पौडेलले उत्कृष्ट तथा उत्तिर्ण सहभागी विद्यार्थीहरुलाई बधाई बधाई दिंदै यो परिणामलाई १२ मा समेत सफल देखाउन सुझाब दिए । आफुले ‘वृक्षसंग विद्यार्थी, समाजका लागि सहयात्री’ नारा दिएर एक विद्यार्थी एक विरुवा रोप्नेगरी हरितका कर्णसंग विद्यार्थीलाई जोड्नेगरी काम भईरहेको जानकारी दिए । कार्यक्रममा वाग्मति प्रदेश सांसद अमृता नेपालले सामुदायिक विद्यालयहरुले शैक्षिक गुणस्तरको लागि अझै मिहिनत पूर्व लाग्न सुझाइन ।
कार्यक्रममा प्राध्यापक विष्णु ज्ञावालीले विद्यार्थीले आगमी दिनमा पढ्ने क्रममा आफ्नो क्षमता र रुचि अनुसार विषय छान्न आग्रह गरे । विद्यार्थीहरुले अब के पढ्ने भन्ने बिषयमा आफ्नो धारणा राख्दै प्राध्यापक ज्ञवालीले भने,‘ अंक भनेको प्राविधिक कुरा मात्र हो, यो क्षणिक पनि हुन सक्छ ।’
सामाजिक दवावमा र साथी भाईको लहै लहैमा नलागेर आफैंले बिषय छान्न विद्यार्थीहरुलाई सुझाए । विद्यार्थीहरुलाई तनाबबाट मुक्त हुन समेत सल्लाह दिए । कार्यक्रममा बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा लगाएतले उत्कृष्ट तथा उत्तिर्ण भएका विद्यार्थीहरुलाई शुभकामना दिए ।
चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाको सभापतित्व तथा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोको सञ्चालनमा भएको उक्त कार्यक्रममा शैक्षिक तथा सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा जिल्ला शिक्षा समन्वय इकाई पूर्व प्रमुख कृष्ण सुवेदी,वाग्मति प्रदेश सञ्चार रजिष्टार कार्यालयका रजिष्टार रेवती सापकोटा, गैह्र सरकारी संस्था महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष नानीमायाँ थापा, केन्द्रीय सदस्य राजेन्द्र शर्मा, सिन्धु सिकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापा तथा नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुव दंगाल लगाएत सम्मानित भएका हुन ।
यसैबीच सोही कार्यक्रमको अवसरमा जिल्ला शिक्षा समन्वय इकाई निवर्तमान प्रमुख कृष्ण सुवेदीलाई सिन्धुपाल्चोक १ नम्बर क्षेत्रको शैक्षिक सल्लाकार घोषित भएका छन् ।