
निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, २४७ जनाले लिए सेवा

२०८२ असार १४
चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगपालिकाका विभिन्न वडामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन भएको छ । शुक्रबार भएको निःशुल्क स्वास्थ्य शिविरबाट २४७ जनाले सेवा लिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख श्रीराम पराजुलीले जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्र्तगत आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुपाल्चोकको आयोजनामा नगरपालिकाको वडा नम्बर ११, १२ र १३ नम्बर वडामा गरिएको हो ।
वडा नम्बर १३ ठूलोसिरुवारी स्वास्थ्य चौकी तथा १२ नम्बर वडाको समेत स्वाथ्य चौकीमा भएको शिविरका लागि काठमाडौंबाट एक विशेषज्ञसहित डाक्टर, जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट एकजना र एक फिजियोथेरापिस्ट पुगेका थिए ।
प्रमुख पराजुलीका अनुसार शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि हाडजोर्नी, नशा, पेटसम्बन्धी समस्या, पायल्स, फिसर, फिस्टुला, महिनावारी गडबडीसहित विभिन्न रोगको परीक्षण गरिएको थियो ।
शिविरमा धेरैजसो बिरामीमा हाडजोर्नी र नशाको समस्या लिएर आएका उनले बताए । शिविरमा खानपान, जीवनशैली, योग र आरोग्यबारे परामर्श तथा जनचेतनामुलक सन्देश प्रदान गरिएको थियो ।
कार्यक्रममा अस्पताल संचालन तथा ब्यबस्थापन समिति अध्यक्ष पदम प्रसाद पराजूली, वड़ा अध्यक्ष रामप्रसाद गौतम लगाएत व्यक्तिहरु सहभागी थिए । स्क्रीनीङ् शिबिर तथा जेष्ठ नागरिकलाई औषधि वितरण कार्यक्रम समेत रहेको पराजुलीले बताए ।