सुनकोसी गाउँपालिकाद्वारा ५०% अनुदानमा किसानलाई ६६२ मिनीटिलर वितरण

असार १२ (२०८२), ठोकर्पा । जिल्लाको सुनकोशी गाउँपालिकाले ५० % अनुदानमा किसानलाई ६६२ मिनीटिलर वितरण गरेको छ ।

हाते ट्याक्टर अर्थात मिनीटिलर मात्र १२ हजार रुपैयाँमै प्राप्त भएपछि सुनकोसी गाउँपालिका भित्रका कृषकहरूमा खुसीको लहर छाएको छ । गाउँपालिकाले कृषिमा यान्त्रीकरण प्रवद्र्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा ६६२ जना कृषकलाई मिनीटिलर उपलब्ध गराईएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

इ–बिडिङ प्रक्रियाबाट सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने आपूर्तिकर्तालाई टेन्डर दिई यन्त्र खरिद गरिएको उनले बताए । ‘कृषिमा लागत घटाएर उत्पादकत्व वृद्धि गर्ने हाम्रो लक्ष्य हो,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘यसका लागि गुणस्तरीय र सस्तो यन्त्र उपलब्ध गराउन हामी प्रतिवद्ध छौं ।’
सस्तो मूल्यमा प्रभावकारी कृषि यन्त्र पाएपछि आफूहरु निकै उत्साहित भएको । स्थानीय कृषक रमेश बस्नेतले प्रतिक्रिया दिए । ‘बजारमा ४०–५० हजार पर्ने ट्याक्टर गाउँपालिकाबाट १२ हजारमै पाइयो’, खुशी हुँदै उनले भने ।

सुनकोसी गाउँपालिका जिल्लाका १२ स्थानीय तहहरूमध्ये सबैभन्दा ठूलो संख्यामा तथा सस्तो मूल्यमा मिनीटिलर उपलब्ध गराउने पहिलो पालिका बनेको छ । यस पटक माग गर्ने सबै कृषकलाई यन्त्र उपलब्ध गराइएको वडा नं. ७ का अध्यक्ष ईश्वर तिमिल्सिनाले जानकारी दिए ।
गाउँपालिकाले कृषकहरूलाई यन्त्र सस्तोमा प्रदान गर्न मात्रै होइन, त्यसको सही प्रयोग र संरक्षणमा समेत विशेष ध्यान दिन आग्रह गरेको छ । आगामी दिनमा समेत कृषकहरूको मागअनुसार सहयोग जारी राख्ने गाउँपालिकाको योजना छ ।