
चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा १ अर्ब १६ करोडको बजेट प्रस्तुत

दिनेश दुलाल
असार ९ (२०८२), चाैतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब १६ करोड २८ लाख रुपैयाँको बजेट नगर सभामा पेश गरेको हो । बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ ।
नगरपालिकाले नगर प्रहरी भर्नादेखि सुख्खा प्रभावित क्षेत्रका लागि विशेष योजना र सुकुटे पर्यटन पूर्वाधार विकास कार्यक्रम घोषणा गरेको छ ।
१४ वटा वडा रहेको नगरपालिकाले प्रत्येक वडाले ८५ लाख बजेट पाएका छन् । यसको लागि ११ करोड ९० लाख छुट्टाईएको हो । त्यस्तै प्रस्तुत गरेको बजेट मध्य सबैभन्दा बढी कार्यालय सञ्चालन तथा व्यवस्थापनको लागि १५ करोड छुट्टाईएको छ । त्यसपछि शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा ६ करोड छुट्टाईएको छ । पूर्वाधारमा भने तीन करोड ७५ लाख मात्र रहेको छ ।
नगरपालिकाले नीतिको प्राथमिकताका मुख्य क्षेत्र सुशासन तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाह, शिक्षा र स्वास्थ्य, कृषि तथा पशपन्छी विकास, भौतिक पूर्वाधार, पर्यटन वन वातावरण तथा विपद व्यवस्थापन, रोजगार, सञ्चार तथा सूचना प्रविधि र समावेशी समुहलाई क्रमश ः राखेको छ । नीति तथा कार्यक्रमले सुशासन तथा जनताको सेवा प्रवाहको क्षेत्रमा रचनात्मक परिवर्तन गर्ने हिसाबले ल्याईएको १८ औ नगरसभाका अध्यक्ष तथा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले बताए । सोही अनुसार रणनैतिक महत्व र योजनाका साथ विशेष प्राथमिक क्षेत्रमा बजेट ल्याईएको उनले बताए ।
नगरसभामा आ.व २०८२÷०८३ को नीतिहरु, नगरपालिकाले आ.व २०८१÷०८२ को श्रावण देखि हाल सम्मको संक्षिप्त प्रगति विवरण र आ.व २०८२÷०८३ को बजेट नगरउपप्रमुख सीता थापाले गरेकी हुन ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठप्रसाद सापकोटाले १८ औं नगरसभाको नीति तथा कार्यक्रम तथा बजेटले संविधानले दिएको अधिकारलाई जनताका आवश्यकतालाई पुरा गर्न मद्दत पुग्ने बताए । त्यहि सिमा भित्र रहेर जनप्रतिनिधिहरुले आफ्नो अभिमत प्रकट गर्न सकिने तर्क राखे ।
नगरसभालाई स्वागत मन्तव्य राख्दै ५ नम्बर वडाअध्यक्ष शिव श्रेष्ठले बजेट सकरात्मक भएकोले जनताको मुहारमा परिवर्तन आउने उदघोष गरे । त्यस्तै ८ नम्बर वडाअध्यक्ष अमृतबहादुर दंगालले जनताका आवश्यकता र माग धेरै भएकोले बजेटले धान्न मुुश्किल भएको बताए । ढिलो गरी झण्डै एक बजे शुरु भएको उक्त कार्यक्रम दुईघण्टा सम्म चलेको थियो ।