
खेलाडीको खानी बन्दै ठूलोसिरुवारी, अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण र कास्य पदक प्राप्त

८ जेठ (२०८२), चौतारा । सिन्धुपाल्चोक जिल्लाको ठूलोसिरुवारी यतिबेला राष्ट्रिय रुपमै खेल क्षेत्रमा चर्चा कमाएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा १३ रहेको ठूलोसिरुवारी कराते खेलाडी उत्पादक थलोको रुपमा परिचित भएको छ ।
यसअघि पटक–पटक विभिन्न स्तरको कताते प्रतियोगितामा स्वर्ण पदक हात पारेर नाम कमाउन सफल भएको ठूलोसिरुवारीका खेलाडिले यसपटक पनि २ जना खेलाडीहरुले स्वर्ण र कास्य पदक हात पारेका छन् ।
यही जेठ ३ र ४ गते भएको ११ औं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उनीहरुले विभिन्न देशका खेलाडीहरु संग प्रतिस्पर्धा गरेर विजेता बनेका हुन् ।
प्रतियोगितामा कराते खेलाडी रोशन गहतराजले ५५ तौल समुहमा स्वर्ण पदक र रन्जित मैनालीले ७६ तौल समुहमा कास्य पदक जित्न सफल भएको कराते प्रशिक्षक गंगा लाल श्रेष्ठले जानकारी दिए । प्रशिक्षक श्रेष्ठकै अथक मिहिनत र प्रयासले सम्भव भएको खेलाडीद्वोय गहतराज र मैनालीले बताए । रोशन गहतराजले ५५ तौल समुहमा तर्फ फाइनलमा भारतलाई ०–८ ले नकआउटमा प्रथम स्थान हाँसिल गर्न सफल भएका थिए ।
ललितपुरस्थित सातदोबाटोको कराते एकेडेमी हलमा भएको प्रतियोगितामा भारत, बङ्गलादेश, नेपाल र श्रीलङ्का बिच प्रतिस्पर्धा भएको थियो ।