
ठूलोसिरुवारी हत्याकाण्ड स्मृति दिवसमा सहिदहरुको सम्झना

१८ बैशाख (२०८२) चौतारा । २०५९ बैशाख १८ गतेकै दिन हो, सिन्धुपाल्चोक जिल्लाको साविक ठूलोसिरुवारी गाविस हाल चौतारा साँगाचोकगढी नगरपालिका–१३ का निहत्या ६ जना नागरिक मारिएको दिन ।
राज्यपक्षबाट तत्कालिन शाही सेनाले बैशाख १८ गते राति सिंगै ठूलोसिरुवारी घेरा हाली घरमा सुतिरहेका सर्वसाधारण जनतालाई थुतेर सोहीको नर्सिङडाँडा भन्ने स्थानमा लगेर रुखमा बाँधेर शरिर छिया–छिया पारी हत्या गरेको थियो । गाउँसिंगैलाई कोलाहाल बनाउँदै टिकादत्त दुलाल, झलकबहादुर दुलाल, भक्तलाल दुलाल, शिवहरी गौतम, गणेश गौतम र सानोसिरुवारी कल्लेरीका छिरिङ तामाङलाई जनताकै अगाडी क्रुर यातना सहितको जघन्य अपराधको घटना भएको थियो । तत्कालिन नेकपा(माओवादी) समर्थक रहेकै आधारमा उनीहरुलाई राज्यपक्षले हत्या गरेको थियो ।
सोही हत्याकाण्डको स्मृतिमा नेकपा (माओवादी केन्द्र) १३ नम्बर वडा कमिटि ठूलोसिरुवारीले सहिदहरुको सम्भनामा कार्यक्रम गरेको छ । कोटडाँडामा सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ । कार्यक्रममा चौतारा सााँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले सहिद तथा वेपत्ता परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । स्मृति दिवस कार्यक्रमका प्रमुख अतिथि रहेका मेयर सापकोटाले जनयुद्वमा मारिएका सहिदहरुको सपनालाई पार्टीले कदापि नभुल्ने बाचा गर्दै आफ्नै पार्टीको नेतृत्वमा सरकारमा हुँदा राष्ट्रका अन्य सहिदहरु सरह ‘जनयुद्वका सहिद’ रुपमा घोषणा गरेर स्थापित गरिएको समेत बताए । देशभरका सहिद तथा वेपत्ता परिवारलाई राहत स्वरुप जनही १० लाख, घाईहरुलाई औषधी उपाचार समेत माओवादी सरकारको पालामा भएको उल्लेख गरे ।
चौतारा साँगाचोकगढी नगरपालिकाले समेत जनयुद्वका सहिद तथा वेपत्ता परिवारलाई उच्च प्राथमिकता राखेको भन्दै नगरले सहिद तथा वेपत्ता परिवार, घाईते, अंगभङग भएका व्यक्ति, जेलहिरासत लगाएतका द्वन्द्वपीडितलाई राहत पुग्नेगरी स्वास्थ्य बीमा समेत गरिएको बताए । सहिद तथा वेपत्ता परिवार र द्वन्द्वप्रभावित परिवारलाई नगरले विशेष कार्यक्रम ल्याएको उल्लेख गरे ।
मेयर सापकाेटाले सत्य निरुपण र बेपत्ता छानविन आयोग मार्फत यस्ता घटनामा सत्यता खोज्न पर्ने उल्लेख गर्दै ‘संक्रमण कालिन न्याय’ सम्बन्धी विधेयक टुङगोमा पुग्ने बताए । सोही मार्फत यस्ता जघन्य हत्याकाण्डको छानविन हुने तर्क राख्दै उनले जनयुद्वका सहित तथा वेपत्ता परिवारले न्याय पाउने बताए ।
कार्यक्रममा १३ नम्बर वडाअध्यक्ष रामप्रसाद गौतमले जनयुद्वका सहिद तथा वेपत्ता परिवारको सम्झानमा नर्सिङडाँडा हत्याकाण्ड स्मृति पार्क निर्माण गरिएको बताए । कार्यक्रममा जिल्ला नेता चन्द्र धिमालकोटी, नगरपार्टी अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, रामशरण विक, जिल्ला नेतृ तारा राना लगाएत पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको वडा कमिटि अध्यक्ष नारायण गौतमले जानकारी दिए ।