
सिपाडोल क्षेत्र परोपकार समाजको अध्यक्षमा हेम सापकोटा निर्वाचित

दिनेश दुलाल
२ चैत्र (२०८१), सिपाडोल । भक्तपूर सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको सामाजिक संस्था सिपाडोल क्षेत्र परोपकार समाजको अध्यक्षमा हेम बहादुर सापकोटा पुनः निर्वाचित भएका छन् ।
संस्थाको आज भएको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट सापकोटा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । १ सय ४१ सदस्य रहेको संस्थाको उपाध्यक्ष लगाएत अन्य पदाधिकारी तथा महिला सदस्यमा सर्वसहमत चयन भएपनि अध्यक्ष, सचिव र तीन सदस्यका लागि मतदान प्रक्रिया थाल्नु परेको हो । परोपकार भवन प्राङग्रणमा सातौं साधारण सभा तथा तेस्रो अधिवेशनको उदघाटन भएसंगै भएको निर्वाचन प्रक्रियामा सापकोटाले ११२ मत ल्याएर निर्वाचित भए । अध्यक्ष पदका प्रत्यासी लालबहादुर दुलालले जम्मा २३ मत ल्याएर पराजित हुन पुगे ।
त्यस्तै सचिव एक पदका लागि भएको निर्वाचनमा पुस्कर भण्डारीले ९५ मत ल्याएर निर्वाचित भए भने उनका प्रत्यासी केदार बहादुर कार्कीले ३४ मत ल्याएर पराजित भए । यसैगरी खुला तीन सदस्य पदका लागि भएको निर्वाचनमा मोहनबहादुर बस्नेतले ९५, यदुनाथ भट्टराईले ९३ र भरत गौतमले ८७ मत ल्याएर निर्वाचत भएको निर्वाचन अधिकृत गंगा प्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार सदस्य पदका प्रत्यासी दलबहादुर दंगालले ४१, भरत सुवेदीले ३३ र रामकिसुन महतोले ३२ मत ल्याएर पराजित हुन पुगे ।
अधिकृत पोखरेलका अनुसार संस्थाको वरिष्ठ उपाध्यक्षमा बोजबहादुर थापा, उपाध्यक्षमा तोकबहादुर नेपाल, सहसचिवमा शिवप्रसाद लोहला, कोषाध्यक्षमा सुदिप रिसाल र सह कोषाध्यक्षमा रमेश कुमार खड्का निर्विरोध निर्वाचित भईसकेका छन् ।
त्यस्तै महिला सदस्यहरुमा देवकी बस्नेत, महेश्वरी श्रेष्ठ र सीता बस्नेत निर्विरोध निर्वाचित भईसकेका छन् । सातौं साधारणसभा तथा तेस्रो अधिवेशन पूर्वमन्त्री एवं सस्थाका आजिवन सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता तथा वाग्मति प्रदेश स्वास्थ्यमन्त्री किरण थापा लगाएतको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
सातौं साधारण सभाको अवसरमा परोपकार समाजका सदस्य रहेका जेष्ठ नागरिकलाई दोसल्ला, नगद तथा पौष्टिक खानेकुरा दिएर सम्मान गरिएको आयोजकले जनाएको छ । संस्थाले दिएको जानकारी अनुसार सोही कार्यक्रमको अवसरमा २०८० सालमा एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने संस्थाका सदस्य रहेका परिवारका छोराछोरीलाई प्रमाणपत्र तथा नगदले सम्मान गरिएको थियो ।
बेलुका साँझ सम्म निर्वाचन सकिए लगत्तै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिले सपथ खुवाएको हो ।
स्मरण रहोस सामाजिक हितमा लागेको परोपकारी संस्था सूर्यविनायक नगरपालिका भित्रैकै निकै क्रियासिल तथा उत्कृष्ट संस्थाको रुपमा चर्चामा छ ।