विपद्ग्रस्त क्षेत्र अवलोकन गर्दै गृहमन्त्री र रक्षामन्त्री सिन्धुपाल्चोकमा


असोज २२, चौतारा । नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र रक्षामन्त्री वानवीर राई लगाएतको टोली सिन्धुपाल्चोक पुगे । विपद्ग्रस्त क्षेत्र अवलोकन गर्दै उनीहरु मङ्गलवार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा आइपुगेका हुन् । गृहमन्त्री र रक्षामन्त्री सदरमुकाम चौतारा पुगेपछि जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकले राखेको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लेखकले अझै पनि कयौं नागरिकहरु बाढी पहिरोमा परि बेपत्ता भएको हुँदा बेपत्ताको खोजी सँगसँगै पीडितहरूलाई राहत उपलब्ध गराउने र अत्यावश्यक सेवाहरूको अवरोध हटाउन सरकार लागि परेको दावी गरे ।

गृहमन्त्री लेखकले राहत, पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकतामा राखेर सरकार अगाडी बढेको ठोकुवा समेत गरे ।
बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनर्स्थापनाको कार्यसँगै खोज र उद्धारका कार्यलाई पनि सरकारले निरन्तरता दिइरहेको उनले सुनाए ।

यसैगरी रक्षामन्त्री मानवीर राईले विपद्को समयमा राहत उद्धारका लागि नेपाली सेनाले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै सेना प्रहरीकै कामका कारण प्रभावितले सरकारको अनुभूति गरेको दावी गरे ।

यस्तै भौतिक यातायात मन्त्री देवेन्द्र दाहालले विपद्सँग जुध्न नसक्ने जिकिर गर्दै विपद व्यवस्थापन गर्नेतर्फ सबै सचेत हुनुपर्ने धारणा राखे । बाढीले बगाएको बेलीव्रिजका लागि नेपाल सरकारलाई भारत सरकारबाट २० वटा बेलिबृज उपलब्ध हुने समेत उनले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, जिल्लास्थित विभिन्न दलका प्रमुख, स्थानीयतहका प्रमुख एवम् उपप्रमुखहरूले सिन्धुपाल्चोकलाई विपद्ग्रस्त जिल्ला घोषणा गर्न र चीनसँग नाका सुचारु गर्नका लागि बाढीले बगाएको २ वटा पुल तुरुन्त निर्माण गर्न माग गरेका थिए ।