देवी बहादुर बुढाथोकी धरौटीमा रिहा
असार १४, चौतारा । पक्राउ पुर्जी जारी भएपश्चात एक महिनासम्म फरार भएर जेठ ६ गते पक्राउ परेका भोटेकोशी गाउँपालिकाका काँग्रेस पालिका सभापति देवी बहादुर बुढाथोकी धरौटीमा रिहा भएका छन् ।
भोटेकोशी गाउँपालिका वडा नं. १ का नेपाली काँग्रेसका नेता साङ्बु शेर्पा तथा काँग्रेसका अर्का नेता रामेश्वर आचार्यको विशेष पहल तथा रोहबरमा बुढाथोकीलाई रिहा गरिएको स्रोतले बताएको छ ।
आफू विरुद्दको किर्ते जालसाजी मुद्दा फिर्ता लिन ज्यान मार्ने धम्की दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट पक्राउ पुर्जी जारी भएपश्चात फरार रहेको अवस्थामा प्रहरीले बुढाथोकीको फोन ट्रयाक गरी जेठ ६ गते चौताराबाट पक्राउ गरेको थियो ।
बुढाथोकीले स्थानीयहरुको किर्ते सहिछाप गरेर प्रधानमन्त्री कार्यालय देखि भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिलाई समेत सर्वोच्च अदालतमा मुद्दा हालेको र सो मुद्दा हाल्दा आफ्नो हस्ताक्षर किर्ते गरेको पाएपछि स्थानीय राजेन्द्र थामीले बुढाथोकी विरुद्द सिन्धुपाल्चोक जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
त्यही मुद्दा फिर्ता लिन बुढाथोकीले थामीको बाबु कृष्णबहादुर थामीलाई दुर्व्यवहार गरी ज्यान मार्ने धम्की समेत दिएको उनी माथि आरोप छ । उनी धरौटीमा छुटेपनि मुद्दा भने फैसला नहुँदा सम्म चलिरहने प्रहरीले जनाएको छ ।