बलेफी गाउँपालिकाद्वारा मांखामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

दिनेश दुलाल
बैशाख १०, (२०८१) मांखा । जिल्लाको बलेफी गाउँपालिकाले आफ्नो दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाले २०८०÷०८१ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइ बिन्जेलमा गरेकोमा यसपटक दोस्रो सार्वजनिक सुनुवाई पालिकाको वडा नम्बर ६ मांखामा सोमबार गरेको हो ।

कुपकन्या माध्यामिक विद्यालय नजिक गरिएको चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय उपभोक्ताले राखेको गुनासो, जिज्ञासा, सुझाब तथा आलोचनालाई गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ उपाध्यक्ष सरु लामा तथा प्रमुख प्रशासकीय अधिकृत रेवन्त दाहाल लगाएत सम्बन्धित शाखा प्रमुखहरुले जवाफ दिएका दिए ।

गाउँका समस्या बुुझ्न तथा जनताका आलोचना र सुझाबहरुलाई योजनामा बदल्न मांखामा दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरिएको गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ ‘प्रवेश’ ले बताए । जनताका सकरात्मक आलोचना, गुनासो र सुझाबले पालिकालाई कोशेढुङ्गा साबित भएको उनले प्रतिक्रिया दिए । सार्वजनिक सुनुवाई कार्यक्रम दुई–दुई महिनामा गर्नेपर्नेमा केही ढिलाई भएको स्विकार्दै अध्यक्ष तामाङले आगमी दिनमा सच्याउने प्रतिवद्वता जनाए ।

गाउँपालिकाको सर्वोच्च निकाय भनेको गाउँसभा भएको भन्दै गाउँसभाद्वारा पारित गरिएको निर्णय सर्वमान्य भएको बताए । पालिकाको रातो किताबमा प्रकाशित बजेट वैधानिक भएको समेत उनले जिकिर गरे । शैक्षिक गुणस्तर र विद्यालय सुधारको लागि कार्यपालिकाको बैठकमा व्यापक छलफल गरिएको जानकारी गराउँदै अध्यक्ष तामाङले विद्यालय सुधारको लागि शिक्षाविद मार्फत दुईमहिना लगाएर विद्यालयहरुको गहन अध्यायन गरिरहेको जानकारी दिए ।

एक विद्यालय एक नर्स कार्यक्रम अन्र्तगत केही विद्यालयहरुमा नर्सको कोटा खाली रहेको भन्दै आफूले प्रदेश सरकारसंग माग गरिएको जानकारी दिए । पालिकाले अब ३ बर्षको लागि उपलब्धीमुलक देखिने गरी विकास निर्माण लगाएतका कामको ठोस योजना बनाईने समेत उनले प्रतिवद्वता जनाए ।

कार्यक्रममा उपाध्यक्ष सरु लामाले गाउँसभामा आफूले पेश गरेको बजेट भन्दा रातो किताबमा फरक बजेट आएको भन्दै योजनाका अनुगमन नगरिएको बताईन । रातो किताबमा प्रकाशित बजेट अवैधानक भएको जिकिर गर्दै उपाध्यक्ष लामाले बजेट प्रमाािणत गर्न चुनौति समेत दिईन । महिलाहरुको क्षमता विकास तथा आयआर्जनका लागि छुट्टाएको बजेट कटौति भएको भन्दै उनले आपत्ति जनाईन ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेवन्त दाहालले गाउँसभाबाट पास भएर रातो किताबमा प्रकाशित भईसकेको बजेट अवैधानिक भन्न नमिल्ने जिकिर गरे । प्रशासकीय अधिकृत दाहालले पालिकाले २० लाख भन्दा माथिका खरिदका काम ईभिडिङ मार्फत गरिएको जानकारी दिए । कानुनले तोकेका र निदृष्ठ गरेका कुराहरु, मापदण्ड र निर्देशिकाले तोकेका कुराहरुमा टेकेर काम गर्नुपर्ने भएकोले उपभोक्ताले सोचेको जस्तो भन्ने बित्तिकै भूक्तानी गर्न नसकिएको उनले बताए । कार्यक्रममा वरिष्ठ लेखा अधिकृत बालकृष्ण दाहालले बजेट बनाउँदा वडाको सिफारिस तथा कार्यपालिकाका सदस्यहरुकै रोहबरमा बनाईने हँुदा कर्मचारीको मात्रै मनोमानी रहन्छ भन्ने उपभोक्ताहरुको बुझाईलाई स्पष्ट पारे । पालिकाको आन्तरिक खर्चको लागि छुट्टाईएको बजेटमा समेत कुनै अनियमिता नभएको जिकिर गरे । उपभोक्ताहरुले उठाएका विषयबस्तुहरुमा २ का वडा अध्यक्ष छबी न्यौपाने, ३ का रितेश तामाङ, ४ का सूर्य तामाङ र ६ का तेजबहादुर पराजुलीले आफ्ना धारणा राखेका थिए ।

सहभागी उपभोक्ताहरुको गुनासो, जिज्ञासा र सुझाबहरुलाई स्वास्थ्य शाखा चेतन घिमिरे, कृषि शाखा प्रवेश आचार्य लगाएत शाखा प्रमुखहरुले जिज्ञासा मेटाएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा कुपकन्या माध्यामिक विद्यालयमा ८ कक्षामा अध्यायनरत छात्र दिपेश तिमिल्सिनाले स्थानीय सरकारले १२ कक्षासम्म पढाईलाई निशुल्क गर्ने भनिएपनि किन नगरिएको भनेर जिज्ञासा राखे । त्यस्तै सोही विद्यालय कक्षा ९ मा अध्यायनरत ऋदेश नेपालले बागमति सरकारले एक विद्यालय एक नर्स कार्यक्रम भनिएपनि कुपकन्यामा नभएकोमा जिज्ञासा राखे ।
त्यस्तै सोहीकी देवकी तिमिल्सिनाले महिलाहरुप्रति स्थानीय सरकारको हेर्ने दृष्टिकोण के हो भनेर प्रश्न राखिन । किसानले दुध विक्री गरेपनि पैसा नपाएको गुनासो राखिन । वडामा वर्थिङ सेन्टर नभएपनि जनशक्तिको अभावको कारण सुत्केरी गराउन अन्यन्त्रै लैजानु परेको गुनासो राखिन । त्यस्तै सोहीका विष्णुप्रसाद तिमिल्सिनाले कृषि क्षेत्रको लागि पालिकाले प्रयाप्त बजेट नछुट्याएको गुनासो राखे । विद्यालय व्यवस्थापन समितिमा पालिकाले हस्तक्षेप गरेको रोमप्रसाद तिमिल्सिनाको भनाई छ । स्थानीयले किसानहरुलाई बन्यजन्तुले निकै सताएको भन्दै स्थानीय सरकारले त्यसको नियन्त्रण गर्न माग राखेका थिए ।

कार्यक्रममा पूर्व जनप्रतिनिधिहरु, विद्यालयका प्रअ तथा विद्यार्थी, संघसंस्थाका प्रतिनिधि लगाएत स्थानीय जनताको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण तथा सञ्चालन जिल्ला सञ्चारकर्मी नेपाल पत्रकार माहासंघ सिन्धु शाखाका सचिव विदुर आचार्यले गरेका थिए ।