सिपाडोल क्षेत्र परोपकार समाजको छैटौं साधारणसभा सम्पन्न

दिनेश दुलाल
फागुन २८, भक्तपुर । सामाजिक क्षेत्रमा क्रियासिल सिपाडोल क्षेत्र परोपकार समाजले आफ्नो छैटौं साधारणसभा सम्पन्न गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ मा रहेको परोपकार समाजले सोमबार बनेपाको चण्डेश्वरीमा साधारणसभा सम्पन्न गरेको हो । छैटौं साधारणसभाको बागमति प्रदेश सांसद किरण थापाले उदघाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद थापाले साधारणसभाको उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै सिपाडोल क्षेत्र परोपकार समाज नगरको मात्र नभई भक्तपुर जिल्लाकै उदाहरणीय संस्थाको रुपमा परिचय गराउन सकेको भन्दै खुलेर प्रशंसा व्यक्त गरे । सामाजले सामाजिक उत्तरदायित्व बोकेर मानवीय र रचनात्मक कार्य गरिरहेको हुनाले आफूले जस्तोसुकै परिस्थितिमा पनि सहयोग गर्ने बचनवद्वता गरे । ‘यस परोकार समाजले निसंकोचका साथ जुनसुकै समस्या पर्दा भनेमा म जतिबेला पनि सहयोग गर्न तयार छु’, सासंद थापाले भने । समाजले आफूले गरेको मानवीय र रचनात्मक कार्यक्रमहरुलाई क्षेत्र विस्तार गर्दै टोल–टोल र बस्ती–बस्तीमा पुगेर क्रियाकलापहरु गर्न सुझाब दिए ।

कार्यक्रमका विशेष अतिथि रहेका सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले समाजलाई सहि दिशामा डो¥याउने सिपाडोल क्षेत्र परोपकार समाजको हरेक कार्यक्रमहरु मानवीय सेवामा समर्पित रहेको भन्दै वडाले सहकार्य गरेर काम गरिरहेको जानकारी दिए । बदलिदो परिवेशमा मानवीय कार्य गर्ने संस्था र व्यक्ति हराउँदै गएको अवस्थामा कुनै नाफामुलक नभई निशर्त मानवीय कार्यमा लाग्ने परोपकार समाजले अझै कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाब दिए । वडाले समाजको सामान्य समस्याहरुलाई सम्बोधन गरिरहेको बताउँदै आगमी दिनमा समेत सहयोगलाई निरन्तरता दिने प्रतिवद्वता जनाए । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष एवम संरक्षक बालकृष्ण सापकोटा, विभिन्न टोलसुधार समितिका अध्यक्ष लगाएत व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा परोपकार समाजलाई सहयोग तथा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । छैटौं साधारणसभाले समाजमा सचिव पुस्कर भण्डारीद्वारा प्रस्तुत गरिएको प्रतिवेदन तथा कोषाध्यक्ष सुदिप रिसालको प्रतिवेदन केही परिमार्जित सहित पारित पारित गरिएको थियो । यसैबीच समाजको कार्यसमितिमा रिक्त रहेको एक सदस्य साधारणसभाले थप समेत गरेको छ ।

सिपाडोल क्षेत्रमा देशका विभिन्न जिल्लाबाट आई बसोबास गर्ने तथा पुर्खौली घर सिपाडोल नै रहेका स्थानीयहरु सम्मिलित उक्त समाज २०७५ सालमा स्थापना गरिएको हो । मरु गुठीको नामबाट संचालित ५ सय ५ रुपैंया संकलन गरिने परम्परालाई अझै व्यवस्थित गर्न सिपाडोल क्षेत्र परोपकार समाज गठन गरिएको हो । समाजले सिपाडोलका विभिन्न टोलमा रहेका समाजका सदस्य परिवारलाई स्नेह, सदभाव र सहयोगको भावनाबाट प्रेरित गराई सामाजिक र सामुहिक चौतारीको रुपमा विकास गरिरहको छ । त्यस्तै समाजको साधारण सदस्य परिवारमा मृत्यु भएमा मृतक परिवारलाई ३० हजार सहयोग गर्ने प्रचलनलाई स्थापित गरेको छ । त्यस्तै शोकमा परेका परिवारलाई भेटघाट तथा कुनै सदस्यको आकास्मित उपचार गर्न परेमा तत्कालका लागि ५० हजार सापटी सहयोग समेत गर्दै आएको छ । कोरोना माहामारीको समयमा टाढा–टाढा पुग्ने बटुवाहरुलाई खाना खुवाउनुको साथै स्वास्थ्य जाँच समेत गरेर चर्चा कमाएको परोपकारले बेलाबखतमा रक्तदान कार्यक्रम गराएर विरामी उपचारमा हुने रगत आपूर्तिलाई सहज बनाएको समाजले जनाएको छ । समाजमा हाल १ सय ३३ साधारण सदस्य तथा ८ जना आजिवन सदस्यहरु रहेका छन् ।

समाजका अध्यक्ष हेमबहादुर सापकोटाको सभापतित्वमा भएको उक्त साधारणसभा कार्यक्रमको सचिव पुस्कर भण्डारीले सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष बोजबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए । छैटौं साधारण सभामा उठेका जिज्ञासाहरुको सम्बोधन तथा कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष सापकोटाले संस्थाले आर्थिक पारदर्शिता अब्बल रहेको दावी गर्दै अन्य व्यवहारिक त्रुटीहरुलाई सच्याउने प्रतिवद्वता जनाए ।