फेरी मेलम्ची बाढीपिडीत आन्दोलनमा, २५ देखि आयोजनाको काम ठप्प पार्ने चेतावनी

२१ पुस मेलम्ची । मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्स समितिले फेरी आन्दोलन थालेका छन् । पटक–पटक आफुहरुले राखेको माग पुरा नभएको भन्दै पुस २५ गते देखि आयोजना ठप्प पार्ने चेतावनी दिएका छन् ।

२०७८ असार १ गते र साउन १७ गतेको मेलम्ची बाढीबाट प्रभावित भएकाहरुले आफूहरुको माग पूरा नभएको भन्दै आन्दोलन थालेका हुन् ।

मेलम्ची आयोजना तथा मेलम्ची बाढीबाट प्रत्यक्ष प्रभावितहरु आफ्नो मागका बिषयमा आयोजना सम्बद्ध निकाय, स्थानीय र सँघीय सरकारलाई पटक–पटक आग्रह गर्दा पनि माग सम्बोधन नभएकोले पुस २५ गतेबाट मुहानस्थलमा धर्ना सहित आयोजनाको काम ठप्प पार्ने गरी आन्दोलनको कार्यक्रम तयार गरीएको सँघर्ष समितिका सचिव छिरिङ ग्याल्बु ह्योल्मोले जानकारी दिए ।

मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरुले नदी नियन्त्रणका लागी तटवन्ध निर्माण, जोखिममा रहेका बस्तीहरुको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढी अघि बैँक तथा बित्तिय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाईएको घर व्यवसायको ऋण मिनाहा गर्नु पर्ने, बाढीबाट मृत्यू भएका परिवारलाई प्रति व्यक्ति १० लाख क्षतिपुर्ती दिइनुपर्ने, स्थानीय सरकार मार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि २० लाख अनुदान दिनुपर्ने लगायतका विभिन्न मागहरु राखेका छन् ।

स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौँ लान नपाइने उनीहरुको भनाइ छ । उनीहरुले बाढी पीडितहरुलाई आयआर्जनका कार्यक्रमहरु लागू गर्न समेत माग गरेका छन् । माग पूरा नभएसम्म आयोजनाको सबै काम ठप्प गर्ने चेतावनी दिँदै आन्दोलन जारी राख्ने मेलम्ची खानेपानी बाढीपिडीत सँघर्ष समितिले जनाएको छ ।

संघर्ष समितिले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई ज्ञापन पत्र बुझाएका छन् । अध्यक्ष शेर्पाले बाढीपीडितहरुको माग सुनवाई नगरेको , निर्वाचनका बेला गाउँले सामु गरेका प्रतिबद्धता पूरा नगरेको, वाढी पिडित माथि घरको नक्सामा समेत अतिरिक्त कर थोपरेको, बाढि नियन्त्रण र संरचना निर्माणकालागि नेपाल सरकारबाट प्राप्त रकम आफुखुशी अन्यत्र प्रयोग गरेको, बाढिले बगाएको बाटो निर्माण नगरी अनावश्यक ठाउँमा डोजर लगाउँदै थप प्राकृतिक बिपत्ति निम्त्याएको, संघ संस्था र व्यक्तिले बाढी पिडितलाई बाँडन पालिकामा जम्मा गरेको रकम पिडितलाई नदिई आफ्नालाई बाँडेको पासाङ लामाले आरोप लगाए ।

यसैगरि सोही कार्यक्रममा बोल्दै हेलम्बु २ का पूर्व वडाध्यक्ष छिरिङ ग्याल्वु लामाले पालिका अध्यक्ष शेर्पा मेलम्चि आयोजनाका स्थानीय प्रभावित क्षेत्रका बासिन्दाको प्रतिनिधित्व गरि आयोजनाका बोर्ड सदस्य भएकोले स्थानीय बाढिपिडितको राहत र पुनर्बास जस्ता बिषयमा काम गर्नु पर्ने तर्क राखे ।

हेलम्बु गाउँपालिका वडा नम्बर २ गणेशे बगरमा आयोजित कार्यक्रममा यसअघि गठन भएका बिभिन्न सँघर्ष समितिहरुले खानेपानी आयोजना र बाढीबाट प्रत्यक्ष प्रभावित बनेकाहरुलाई लाभ हुने कुनैपनि माग सम्बोधन गराउन नसकेको भन्दै पासाङ लामाको नेतृत्वमा नयाँ सँघर्ष समिति गठन गरिएको हो । सोही नयाँ सँघर्ष समितिले बिभिन्न माग सहित आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

हेलम्बु गाविसका पूर्व अध्यक्ष पासाङ लामाको अध्यक्षतामा ७ सय ७ सदस्यीय सङ्घर्स समिति गठन भएको छ । उपाध्यक्षमा विश्वनाथ गुरागाइ ,कोषाध्यक्ष–गोमा खड्का र सचिव–छिरिङ ग्याल्मु रहेका छन् ।