
बलेफी गाउँपालिकाद्वारा प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न,स्थानीयले खुलेर राखे गुनासो

दिनेश दुलाल
पुस २० (२०८०) बिन्जेल । जिल्लाको बलेफी गाउँपालिकाले आफ्नो प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाले २०८०÷०८१ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम पालिकाको वडा नम्बर ४ र ५ पर्ने बिन्जेलमा गरेको हो ।
बिन्जेलमा रहेको दुग्धउत्पादक सहकारी संस्थाको प्राङग्रणमा स्थानीय जनताको बाक्लो उपस्थितिका बीच शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय उपभोक्ताले राखेको गुनासो, जिज्ञासा, सुझाब तथा आलोचनालाई गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ उपाध्यक्ष सरु लामा तथा प्रमुख प्रशासकीय अधिकृत रेवन्त दाहाल लगाएत सम्बन्धित शाखा प्रमुखहरुले जवाफ दिएका दिए ।
गाउँका उपभोक्ताका समस्या बुुझ्न र बिन्जेलबाट केही सिक्नपर्छ भनेर पालिकाले विन्जेलमा प्रथम चौमासिकको सार्वजनिक सुनुवाई गरिएको गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ ‘प्रवेश’ ले बताए । जनताका सकरात्मक आलोचना तथा सुझावलाई सुन्न यो कार्यक्रम प्रभावकारी भएको समेत उनको ठम्याई छ ।
सिन्धुपाल्चोककै सबैभन्दा बढी दुध उत्पादन हुने बिन्जेलमा गाईपालक किसानलाई अनुदान दिने विषय पटक–पटक उठेपनि अपठ्यारो परिस्थितिका कारण पुरा गर्न नसकिएको स्विकार्दै पालिका अध्यक्ष तामाङले कार्यकालिकाको बैठकले कार्यविधि पुरा गरिसकिएकाले कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी दिए ।
अर्को साल देखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गाउँपालिकाले गाउँ खेलकुद विकास समिति निर्माण गरेर गााउँपालिकाले नै आयोजना गरेर ग्रामिण भेगका दुर्गम विद्यालयहरुमा कार्यक्रम आयोजना गरिने बताए । शैक्षिक गुणस्तर र विद्यालय सुधारको लागि कार्यपालिकाको बैठकमा व्यापक छलफल गरिएको जानकारी गराउँदै अध्यक्ष तामाङले विद्यालय पहँुचबाट टाढा रहेका बालबालिकाहरुको भविश्व विगार्नेगरी विद्यालय मर्ज नगरिने बताए । गाउँपालिकाले योजना बनाउँदा कुनै राजनैतिक पुर्वाग्रह राखेर नबनाईएको उनले ठोकुवा गरे । ‘काम गर्ने शिलशिलामा त्यस्तो हुन गएको भए म क्षमा चाहान्छु’, उनले भने । साउन यता मात्रै नयाँ प्रमुख प्रशासकीय अधिकृत तथा लेखा अधिकृत आयसंगै योजनाको भुक्तानीको काम उल्लेख्य मात्रमा भएको उनकाे दावी छ ।
कार्यक्रममा उपाध्यक्ष सरु लामाले पालिकाको कानुनी परामर्श शाखाबाट न्याय सम्पादनमा चुस्तदुरुस्त बनाईएको दावी गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिकको लागि कार्यक्रम ल्याईसकिएको तथा महिलाहरुको लागि महिला उद्यमी सीप विकास तालिमको व्यवस्था गरिसकिएको बताईन । महिला, जेष्ठनागरिक र अपाङगताहरुको लागि ३५ लाख र बालबालिकाहरुको लागि २२ लाख छुट्याईएको बताईन । पालिकाका हरेक योजनाहरुको अनुगमन गर्दा गुणस्तर र काम पुरा भएको छ की छैन् भनेर त्यसको मामपनका आधारमा मूल्याङ्कन गरिएको बताईन ।
पालिकाले दुईलाख भन्दा माथिका आयोजनाहरुको सूचनापाटी अनिवार्य गरिएको भन्दै उपभोक्ताले सूचनापाटीको फोटो समावेश नगरेसम्म भूक्तानी नगरिएको पालिका प्रमुख प्रशासकीय अधिकृत रेवन्त दाहालले बताए । कानुनले तोकेका र निदृष्ठ गरेका कुराहरु,मापदण्ड र निर्देशिकाले तोकेका कुराहरुमा टेकेर काम गर्नुपर्ने भएकोले उपभोक्ताले सोचेको जस्तो भन्ने बित्तिकै भूक्तानी गर्न नसकिएको उनले बताए । एउटै योजनाको डेडलाख भन्दा माथि बेरुजू निस्किनाले उपभोक्ताले तिर्न पर्ने अवस्था आएकाे भन्दै उचित कागजपत्र प्रक्रिया पुरा गर्न उनले सचेत गराए ।
प्रमुख प्रशासकीय अधिकृत दाहालले पालिका भित्रको सार्वजनिक जग्गा अधिक्रमण भएको सन्दर्भमा संघीय मन्त्रालयले सार्वजनिक जग्गाको विवरण पठाउन निर्देशन दिएपनि पालिकासंग कुनै तथ्याङक नभएकोले नापी तथा मालपोत कार्यालयमा समन्वय गरिएको उनले जानकारी गराए ।
उपभोक्ताहरुले सहज ढंगबाट छिटो भुक्तानी लिनको लागि पालिकाकाले भूक्तानी पुस्तिका समेत बनाएइकोले सोहीको आधारमा निवेदन दिन लेखा अधिकृत बालकृष्ण दाहालले बताए । उपभोक्ताहरुले उठाएका विषयबस्तुहरुमा २ का वडा अध्यक्ष छबी न्यौपाने, ३ का रितेश तामाङ, ४ का सूर्य तामाङ र ५ का यादव ठकुरीले आफ्ना धारणा राखेका थिए ।
सहभागी उपभोक्ताहरुको गुनासो, जिज्ञासा र सुझाबहरुलाई शिक्षा अधिकृत सलबहादुर पाण्डे, प्राविधिक शाखा प्रमुख सन्जय प्याकुरेल, प्रशासन शाखा गिता खरेल, स्वास्थ्य शाखा चेतन घिमिरे, पशु शाखा दिपेन्द्र दंगाल, कृषि शाखा प्रवेश आचार्य, योजना शाखा तथा सूचना अधिकारी ज्ञानु तामाङ, महिला तथा बालबालिका रेणु सुन्दास, सामाजिक विकास शाखा सीता कार्की लगाएत शाखा प्रमुखहरुले जिज्ञासा मेटाएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा जाल्पादेवी माध्यामिक विद्यालयमा १२ कक्षामा अध्यायनरत छात्रा सुस्मिता नेपालले बिगतमा एसईई परिक्षामा कोचिङ कक्षा निशुल्क भएपनि अहिले नभएको तथा १२ सम्म सरकारले पढाईलाई निशुल्क गर्न माग राखिन ।
त्यस्तै अर्का उपभोक्ता सुकदेव नेपालले गाईपालक किसानलाई अनुदान दिन भनेर सबै प्रक्रिया पुरा गरेपनि किन नदिएको भनेर गुनासो राखेका थिए । सहभागीले स्थानीय स्तरमै सामान्य उपचार समेत पाउन नसक्दा धुलिखेल पुगेर मंहँगोमा उपचार गर्न वाध्य भएको गुनासो राखेका थिए । विद्यालय गठनमा समेत राजनीतिकरण भएको भन्दै खुलेर आलोचना गरेका थिए । दिनेश नेपालीले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिने भनिएपनि स्थानीय सरकारले कृषी पेशा अंगाल्ने वास्तकि किसानलाई नसमेटेको गुनासो राखे । स्थानीयले किसानहरुलाई बन्यजन्तुले निकै सताएको भन्दै स्थानीय सरकारले त्यसको नियन्त्रण गर्न माग राखेका थिए ।
कार्यक्रममा पूर्व जनप्रतिनिधिहरु, विद्यालयका प्रअ तथा विद्यार्थी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगाएत स्थानीय जनताको उल्लेख्य सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण तथा सञ्चालन जिल्ला सञ्चारकर्मी ज्ञानेन्द्र तिमिल्सिनाले गरेका थिए । बिन्जेल दुग्धउत्पादक सहकारी संस्थाको प्राङग्रणमा शुक्रबार १२ बजे सुरु गरिएको कार्यक्रम दिउसो ४ बजेसम्म सञ्चालन भएको थियो ।