लिसंखुपाखर गाउँपालिकामा भएको राष्ट्रपति रनिङशिल्डको उपाधी सम्पदा माविलाई

१९ पुस, सिन्धुपाल्चोक । जिल्लाको लिसंखु पाखर गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८० को उपाधी सम्पदा माध्यमिक विद्यालय सिलढुङ्गाले जितेको छ । बिहीबार सम्पन्न प्रतियोगितामा सबैभन्दा धेरै १३ स्वर्ण ७ रजत र ४ कास्य पदक गरी कूल २४ पदक जित्दै सम्पदाले उपाधी हात पारेको हो । त्यसैगरी बद्वोेदय मावि लिसंखु दोश्रो र धर्मोदय मावी ठूलो धादिङले तेस्रो स्थान हाँसिल गरेका छन् ।

पालिकाको सिक्रे नयाँ बस्तीस्थित शिखर खेल मैदानमा सम्पन्न प्रतियोगिताका बिजेताहरुलाई सिन्धुपाल्चोक १ का सांसद माधब सापकोटा ‘सुबोध’ शिल्ड, मेडल तथा प्रमाणपत्र बितरण गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि रहेका सापकोटाले खेलकुद प्रतियोगिताका बिजेता एवम् सहभागीलाई बधाई ज्ञापन गर्दै उत्साह प्रदान गरे । कार्यक्रममा पालिका अध्यक्ष राजु लामाले प्रमुख अतिथि सापकोटालाई सडक कालोपत्रे, टेलीफोन टावर सुधारलगायतका विषय समेटिएको ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रतियोगितामा पालिका भित्रका ११ वटा माविका ४ सय बढी विद्यार्थीले तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरी चार विधाका ४० खेल खेलाइएको पालिका शिक्षा शाखा प्रमुख बिनोद कार्कीले जानकारी दिए । कार्यक्रममा पालिका भित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीहरु तेह्रौं साफकी तेक्वान्दोका स्वर्ण पदक बिजेता काजल श्रेष्ठ, शुस्मा श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।

समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माइली तामाङ, उपाध्यक्ष मिठुदेवी लामा, प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठ, कार्यपालिका सदस्यहरु, पालिका भित्रका शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको यही पुस १७ गते बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले उदघाटन गरेका थिए ।