
हेलम्बु–गोसाइँकुण्ड मार्गको सडक स्तर उन्नतीका लागि स्विकृत

दिनेश दुलाल
पुस ७, चनौटे । हेलम्बु गाउँपालिकाको चनौटे हुँदै गोसाइँकुण्ड जाने मार्गको सडक स्तर उन्नतीका लागि स्विकृत भएको छ ।
गाउँपालिकाको चनौटे, थापाटार, इचोक, कुटुम्साङ सडकको घोप्टेघ्याङ हुँदै गोसाइँकुण्ड मार्गसम्म हेलम्बु गाउँपालिकाको डिपिआरको आधारमा कार्यक्रम समावेश भई स्विकृत भएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार पूर्र्वाधार विकास कार्यालय चौतारा मार्फत प्रकृया अघि बढाइ प्रदेश नीति तथा योजना आयोगबाट बहुबर्षीय आयोजना अन्तर्गत उक्त सडक योजना शुक्रबार स्वीकृत भएर आएको हो ।
उक्त आयोजनाको स्वीकृत बजेट २७ करोड ९८ लाख १३ हजार रहेको छ । उक्त बजेटले चनौटे थापाटारदेखि घोप्टेघ्याङसम्म ग्रावेल तथा कालोपत्रेको लागि भएको अध्यक्ष शेर्पाको भनाई छ । उनका अनुसार हेलम्बु गाउँपालिकाको प्रत्येक वडाका एउटा–एउटा मुख्य सडक कालेपत्रे गर्ने कार्यक्रम अन्तर्गत यो पहिलो सडक हुनेछ । यस पछि अन्य सडक पनि क्रमशः स्तर उन्नतीको लागि अघि बढाईने उनले बताए । यो सडक स्तर उन्नती भएसंगै धार्मिक पर्यटकीय स्थल गोसाइँकुण्ड जाने तिर्थालु तथा पर्यटकका लागि निकै छोटो दुरी र सहज बाटो हुनेछ । यसैको माथि घोप्टेघ्याङ बाट ग्रेटट्रेल निर्माणको चरणमा छ । यो पालिकाकै सबैभन्दा ठूलो गौरबको आयोजना हो ।