यसरी खटिन्छन् पालिका अध्यक्षः दिउँसो जनताको र राती पार्टी संगठनको काम

मंसिर २०, लिसंखु (सिन्धुपाल्चोक) । लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा उमेरले ३३ वर्ष लागेका झर्झराउँदा युवा हुन् । सानै उमेरमा राजनीतिमा होमिएका लामा २६ वर्षकै उमेरमा २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी) केन्द्रको तर्फबाट लिसंखुपाखर गाउँपालिकाको पालिका अध्यक्ष पदको लागि प्रतिश्पर्धामा उत्रेका थिए ।

गाउँगाउँमा संगठन विस्तारमा पालिका अध्यक्ष राजु लामा

एमालेबाट उठेका कमल नेपालसंग अत्यान्त झिनो मतले लामा पराजित भएका थिए । चुनावमा पराजित भएपनि हार खाएर कहिल्यै उनले गाउँ छाडेनन् । शिक्षण पेशाबाट राजनीतिमा लागेका लामा दिनहुँ जनताकै काममा तल्लिन हुन्थे । कहिल्यै जनताको साथ नछाडेका लामाले २०७८ को स्थानीय तहको निर्वाचनमा यसपटक भने बाजी मारे । समयलाई संधै अवसरको रुपमा बुझ्ने लामा जनप्रतिनिधिको हैसियतले पालिकामा रहेर जसरी जनताको काममा सरिक हुन्छन् । पार्टीको काम पनि उतिकै खटिएका हुन्छन् ।

उनले गर्ने पार्टी संगठनको काम दिउँसो भने होईन उनी राती अबेरसम्म खट्छन् । दिउँसो पालिकामा बसेर जनताको समस्यासंग जोडिएर सहजीकरण गरेका लामा साँझ पर्न साथ प्रत्येक टोल–टोल र गाउँ छिर्छन । पार्टीको ३ महिने रुपान्तरण अभियान सकिएर संगठन विस्तार चलाएसंगै कार्यकर्ता भेला गर्नु, संगठन बनाउनु र पार्टी सदस्यता वितरण गर्नु उनको दैनिकी जस्तै काम भएको छ । शनिबार र बिहान बेलुका पार्टी संगठनको काममा थालेका लामाले संगठन विस्तारको काम अन्तिम चरणमा पुगेको बताए । ७ वटा वडा रहेको लिसंखुपाखरमा २२ वटा उपसमितिहरु बनाएको उनले जानकारी दिए ।

त्यस्तै ८ सय भन्दा माथि सक्रिय सदस्य र त्यतिनै संख्यामा साधारण सदस्य वितरण हुने जानकारी दिए । जनताको आधारभूत आवश्यकतालाई पार्टी र सरकारसंग जोडेर पुरा गर्न संगठनको आवश्यकता रहेको बताए । आगमी २०८४ मा समेत लिसंखुपाखरलाई माओवादीमय बनाउने र जनताको आधारभूत आवश्यकता पुरा गरेर विकास र समृद्विले नमुना गाउँपालिका बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए । उनको उपस्थितिले स्थानीय जनता समेत उत्साहित भएका छन् ।