सिन्धुपाल्चोकमा जन्मदै प्रधानमन्त्री !

दिनेश दुलाल
मंसिर ११, (२०८०) चौतारा । नेपालमा अझै जन्मदर्ता गर्नुपर्ने कुनै समयसीमा नभएको तथा जन्मदर्ता प्रमाणपत्रको नेपाली भूमिमा अनिवार्यता नभएको हुँदा कतिपय बाबुआमा शिशु स्कुल नजाउन्जेल राम्रो नामको अनुसन्धानमा लागिपरेका हुन्छन् । कतिको त कक्षा आठको दर्ता फारम भर्दासम्म पनि नाम फेरिन्छ । कतिपयले शिुशको न्वारान गर्दा राखिएको नाम समेत फेरेर अर्कै नाम समेत राख्ने समेत चलन छ ।

नाम चयनका रमाइला कथाहरू, नामकरणमा हाम्रोजस्तो कौशल र हाम्रोजस्तो समृद्ध र विविधता भएको नामावली कुनै अन्य समाज वा संस्कृतिमा पक्कै पनि छैन । तपाईँहरू पनि आफ्नो वरिपरिका नामहरू हेर्नुहोस् त, पक्कै पनि रमाइला प्रसङ्गहरू सुन्न पाउनुहुनेछ ।
त्यस्तै रमाईला प्रसङ्ग मध्ये सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ३ खालेका एक दम्पतिले आफ्नो सन्तानको नाम अनौठो राखिदिएका छन् ।

भरखर जन्मिएका एक शिशुको जन्मदर्ता गर्न ३ नम्बर वडाको सम्पर्क कार्यालय रहेको गुम्बा डाँडामा आईतबार पुगेका फुर्बा र सम्झनाले नवजात शिशुको नाम प्रधानमन्त्री तामाङ राखिदिएका छन् । अरु दुई छोरी सहित तीन सन्तानको जन्म दर्ता गराउन वडा सम्पर्क कार्यालय पुगेका ति दम्पतिलाई वडा सचिव सिम्रन नेपालले नाम के राख्ने भनेर सोधिन । जब फुर्बाले छोराको नाम प्रधानमन्त्री तामाङ राख्ने भनेर जवाफ दिए । उनको जवाफ सुनेर सचिव नेपाल छक्कक परिन । ठठ्ठा गरेको होला भनेर सचिव नेपालले पुनः सोधिन तर दम्पतिले नै त्यहि नाम राख्ने भनेर आग्रह गरेपछि केही दिन अघिमात्र जन्मिएको शिशुको नाम प्रधानमन्त्री तामाङ राखेर जन्मदर्ता गरिदिएको सचिव नेपालले बताईन । उनका अनुसार ति दम्पतिले सोही दिन दुई छोरीको समेत एलिला र एन्जिला नाम राखेर जन्मदर्ता गराएका छन् ।

फरक विशेषता र पहिचान गराउन छोराछोरीहरुको यस किसिमको नाम राखिएको प्रधानमन्त्रीका बाबू फुर्बाले बताए । उनका अनुसार प्रधानमन्त्री २०८० मंसिर ५ गते जन्मिएका हुन् भने एलिशा र एन्जिलाको उमेर दुई–दुई बर्षको फरक छ । तीन सन्तानका बाबू फुर्बा केही वर्ष देखि फ्रान्समा रोजगारीको सिलसिलामा पुगेर छुट्टिमा आएका हुन् । सम्झना भने गाउँमै रहेकी छिन् ।