पूर्व अरनिको यातायात प्रा.ली संग ७ बुँदे सम्झौता, विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएकालाई ४५% छुटको व्यवस्था

दिनेश दुलाल
साउन २३, (२०८०) चौतारा । पूर्व अरनिको यातायात प्रा.ली संग विभिन्न सरोकारवालाहरुले ७ बुँदे सम्झौता गरेका छन् ।
विभिन्न राजनीतिक पार्टी, बिद्यार्थी संगठन लगाएत सरोकारवालाहरुको आज सदरमुकाम चौतारामा बसेको वैठकले विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएकालाई ४५% छुटको व्यवस्था लगाएत निर्णयहरु ग्रिएको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रविण चौलागाईले सिन्धुज्वालालाई जानकारी दिए ।

उनका अनुसार पूर्व अरनिको यातायात र अन्य यातायात प्रा.लि. लाई पनि लागु हुनेगरी छलफल भई नेपाल सरकारबाट उपलब्ध गराएको बिद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता भएकोले सार्वजनिक यातायात सेवा प्रयोग गर्दा पाउने ४५% छुट पूर्ण रुपमा कार्यान्वयन गर्ने गरी निर्णय भएको हो ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रहरी, जिल्ला ट्राफिक प्रहरी, विभिन्न राजनीतिक पार्टी, बिद्यार्थी संगठन, विभिन्न संघ संस्था लगाएत सरोकारवालाहरु बैठकमा संलग्न थिए ।
वैठकले गरेको निर्णय अनुसार सरकारले निर्धारण गरेको सार्वजनिक यातायातको भाडा दर कायम गरी लागु गर्ने तथा उक्त भाडादर सबै सार्वजनिक यातायातका साधानहरुमा सबैले देख्नेगरी टाँस्ने व्यवस्था मिलाउने उल्लेख छ । त्यस्तै ग्रामिण भेगमा सञ्चालन हुने लोकल यात्रुहरुलाई समेत टिकट उपलब्ध गराउन आवश्यक गहकार्य अगाडी बढाउने निर्णयमा उल्लेख छ ।

स्मरण रहोस सिन्धुपाल्चोकबाट काठमाडौ चल्ने सार्वजनिक यातायातका साधनहरूको मुख्य समस्या भनेको अनावश्यक र अस्वस्थ्य प्रतिस्पर्धा र मनोमानी भाडा असुली हुने गरेको जनगुनासो आएपछि अखिल क्रान्तिकारीको सक्रियतामा वैठकको आयोजना गरिएको विद्यार्थी नेता चौलागाईको दावी छ । ‘हिजोआज त टिकट पनि काटिंदैन । अरनिको सेवा समितिको आफ्नै बसपार्क छ तर बसपार्कमा गाडी कहिल्यै राखिदैन’, एक यात्रुले भने, ‘सुपर एक्सप्रेस भनिन्छ तर ठाउँ कुठाउँ यात्रु राखेर चर्को भाडा असुल्छन् ।’ प्रशासनले अनुगमन मात्रै होइन दण्ड र जरिवाना गर्न सक्नुपर्ने ति यात्रुको भनाई छ ।

यस्तो छ ७ बुँदे सम्झौताको प्रावधान

१) यस जिल्लामा संचालित सबै सार्वजनिक यातायात सेवाहरुले विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई निजहरुको परिचयपत्रको आधारमा नियम अनुसार अनिवार्य रुपमा भाडामा छुट दिने र सो को कार्यान्वयनको अनुगमन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले गर्ने ।
२) सरकारले निर्धारण गरेको सार्वजनिक यातायातको भाडा दर कायम गरी लागु गर्ने तथा उक्त भाडादर सबै सार्वजनिक यातायातका साधानहरुमा सबैले देख्नेगरी टाँस्ने व्यवस्था मिलाउने र ग्रामिण भेगमा सञ्चालन हुने लोकल यात्रुहरुलाई समेत टिकट उपलब्ध गराउन आवश्यक गहकार्य अगाडी बढाउने ।
३) सुपर एक्सप्रेसको रुपमा सञ्चालनमा आएको सवारी साधन केही मापदण्डको आधारमा सञ्चालन गर्ने र सुपरको मापदण्ड विपरित सवारी सञ्चालन गरी बढी भाडा लिएको सन्दर्भमा ट्राफिक कार्यालयले नियमन तथा कारवाही गर्ने ।
४) सार्वजनिक यातायातका क्षेत्रमा देखिएका अनियमिताका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक कार्यालयको नियमति रुपमा अनुगमन तथा कारबाहीको व्यवस्था गर्ने ।
५) सार्वजनिक यातायातका चालक तथा सञ्चालकहरुले यात्रुप्रति गर्ने व्यवहारसुधार गर्नका लागि सार्वजनिक यातायात कम्पनीले तत्काल अभिमूखिकरण तालिम सञ्चालन गर्न व्यवस्था मिलाउने र पूर्व अरनिको यातायात प्रा.लीले उक्त अभिमूखिकरण कार्यलाई निरन्तरता दिने ।
६) नीजि सवारी साधानले यात्रु बोक्ने गरेको गुनासो आएकोले त्यसलाई जिल्ला प्रहरी ट्राफिक कार्यालयले नियमित अनुगमन तथा नियन्त्रण गर्ने ।
७) पूर्व अरनिको यातायात प्रालिले विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई विद्यालय समयमा निशुल्क विद्यालय आवातजावत गर्ने व्यवस्था मिलाउने र सुनकोशी क्याम्पसका विद्यार्थीहरुका लागि पूर्व सम्झौता अनुसारको बस भाद्र १ देखि सञ्चालनमा ल्याउने ।