
जब पालिका अध्यक्ष नै कोदालो बोकेर झाडी फाँड्न लागे, विद्यालयका शिक्षक र विद्यार्थी जिल परे

दिनेश दुलाल
माघ १३, ठूलोपाखर । विद्याकी देवी सरस्वतीको पूजा गरी वसन्तपञ्चमी मनाउन बिहिबार ककलिङ हरिसिद्वि माध्यामिक विद्यालयले स्वरस्वती पूजाको कार्यक्रम तयारी गरेको थियो ।
विद्यालयका सञ्चालक, शिक्षक, विद्यार्थी तथा अभिभाकहरुको उपस्थितिमा गर्न लागिएको सरस्वतीको पूजा कार्यक्रममा लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा तथा उपाध्यक्ष मिठूदेवी लामालाई निमन्त्रणा गरिएको थियो । खाडीचौर–चरिकोट मुख्य सडक नजिक रहेको हरिसिद्वि माविले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै सरिक भए ।
जब सरस्वती पूजा कार्यक्रम सकिनै लागेको थियो । पालिका अध्यक्ष लामाले विद्यालयको वरीपरी आफ्नो नजर डुलाए । विद्यालय घेराबार भित्रै सिस्नु लगाएतको झाडी देखे । तुरुन्तै उनले कोदालो हँसिया र बेल्चा मगाएर कोदालो बोकेर आफैं झाडीतिर तम्सिए । उपाध्यक्ष लामाले समेत हँसिया बोकेर झाडी फाड्न अध्यक्षसंगै लागिन । पालिका अध्यक्ष र उपाध्यक्षले औजार बोकेर सरसफाईमा लागेको देखेर विद्यालयका शिक्षक तथा विद्यार्थी भने जिल परे ।
पालिका अध्यक्ष लामाले विद्यालयले सरसफाईमा ध्यान नदिएको भन्दै विद्यालयका प्रअ कृष्ण खनाललाई नियमित सरसफाई गर्न निर्देशन दिए । पालिका अध्यक्ष लामाको सरसफाईप्रति सक्रियता र चासो देखेर शिक्षकहरु आफैं लज्जित बने । उसोत पालिका अध्यक्ष लामा पूर्व शिक्षक हुन् । ‘राजु मास्टर’ को रुपमा पालिकामा राम्रो छाप छोडेका अध्यक्ष लामाको सरसफाईको प्रसंगले चर्चा मात्रै पाएको छैन, विद्यालयलाई समेत राम्रो प्रवाह गर्न सफल भएको निवर्तमान वडा अध्यक्ष बयानबहादुर घिसिङको तर्क छ ।
विद्यालयका प्रध्यानध्यापक कृष्ण खनाललले विद्यालयले नियमित सरसफाइ भएपनि कम्पाण्ड ठूलो भएकोले छुटेको बताए । पालिका अध्यक्षको निर्देशन संगै आजलाई सरसफाईको कार्यक्रम राखिएको बताए ।