झ्याँडीका माझी समुदायले गरे पूर्व अरनिको यात्रुबाहक बसको भव्य स्वागत
असोज ८, साँगाचोक (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ झ्याँडीका माझी समुदायले पूर्व अरनिको यात्रुबाहक बसको भव्य स्वागत गरेका छन् । पूर्व अरनिको यातायात प्रा.ली.बाट सञ्चालित बस पहिलोपटक माझी समुदाय रहेको झ्याँडी बस्तीमा पुगेपछि समुदायले हर्सोल्लासका साथ स्वागत गरेका थिए ।
प्रा.ली.ले काठमाडौंबाट काभ्रेको दोलालघाट हुँदै बन्देउ, महादेवटार, एक्लेबेसी, जामुने, भिमटारबाट झ्याँडी नमुना माझी वस्तीसम्म आजबाट बस सेवा सञ्चालनमा ल्याएको हो । पूर्व अरनिको यातायात सेवा प्रा.लि.को यात्रुबाहक बस झ्याँडी पुग्दा स्थानीयले खादा माला सहित भब्य स्वागत गरेका थिए ।
अरनिको यातायात अन्तर्गत जुगल यातायातको बस अब काठमाडौंबाट दैनिक १ः१५ बजे छुट्नेछ र झ्याँडी नमुना माझी बस्तीमा बास बस्नेछ । त्यस्तै झ्याँडी नमुना बस्तीबाट भोलिपल्ट बिहान काठमाडौंको लागि ७ः३० बजे छुट्ने समितिले जनाएको छ । पहिलो पटक बस सेवा पाउँदा आफूहरु निकै उत्साहित भएको स्थानीय बुदे माझीको भनाई छ ।
यस अघि बस सेवाको लागि कि बन्देउ कि साँगाचोक डेड घण्टाको पैदल गरेर आउन पर्ने वाध्यता भएको उनले सुनाए । बस समेत सेवा नपुगेको माझी बस्तीमा भने श्वेता फाउण्डेशनद्वारा एकीकृत बस्ती निर्माण भईसकेको छ ।