जिल्ला समन्वय समितिमा प्रमुखमा बालकृष्ण र उपप्रमुखमा नेपाल विजयी

जेठ ३०, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिमा कांग्रेस र एकिकृत समाजवादीको गठबन्धनको प्यानल नै निर्वाचित भएको छ । आईतबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भएका छन् ।

श्रेष्ठ बाह्विसे ४ बाट वडा सदस्यमा निर्वाचीत भएका थिए । निर्वाचन कार्यालयले दिएको जनाकारी अनुसार उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश वि.कले १० मत प्राप्त गरेका थिए । नेकपा माओवादी केन्द्रका उम्मेदवार विकलाई एमालेको समर्थन थियो । तर गठबन्धनबाट खस्नुपर्ने ११ मत मध्य विकले १० मत प्राप्त गरेका थिए । १ मत खाली रहेको थियो ।

उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदम नाथ नेपाल १३ मत प्राप्त गरी विजयी भएका थिए । नेपालका प्रतिस्पर्धी एमालेका उम्मेदवार जंग प्रताप सिलवाल (जेपी) ले ११ मत प्राप्त गरेका थिए । उपप्रमुखमा निर्वाचित नेपाल स्थानीय तह निर्वाचनमा बलेफी गाउँपालिका ४ विन्जेलबाट वडा सदस्यमा निर्वाचीत भएका थिए । समन्वय समितिको सदस्यमा समाजवादी र काग्रेस गठबन्धनबाट जित बहादुर कार्की, बलराम केसि, विक्रम तामाङ, अम्बिका बस्नेत, ढक माया सेतो कोईराला, सोममाया श्रेष्ठ, तारा नेपालीले १३÷१३ मत प्राप्त गरेको निर्वाचन अधिकृत चन्द्र प्रकास तिवारीले जानकारी दिए ।

१२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा जिसस निर्वाचनका लागि कुल २४ मतदाता रहेका छन् । जिसस निर्वाचनमा एक प्रमुख, एक उपप्रमुख र सात जना सदस्य पदका लागि १८ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

कुल २४ मत मध्य जिसस चुनावमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच गठबन्धन हुदा ११ मत थियो । तर सदस्य तर्फको मतदानमा एमालेले माओवादीलाई र माओवादीले एमालेलाई धोका दिएको मत परिणामले देखाएको छ । सदस्य तर्फ माओवादीका उम्मेदवार एम बहादुर पौडेलले ४ संजीव तामाङले ३ मत मात्रै ल्याए । सदस्य तर्फ नै एमालेका राधिका तिमिल्सीनाको ५ सुनिल पौडेलको ४ र सुस्मीता तामाङको ५ मत मात्रै थियो ।