यस्तो भयो मानेश्वाँरामा दुःखद घटना, आगोलागीबाट तीन बालकको ज्यान गयो
चैत्र २१, बाह्रबिसे (सिन्धुपाल्चोक) । हिजो बेलुका बाह्रबिसे नगरपालिकाको मानेश्वाँरामा तीन बालबालिकाको ज्यान जानेगरी दुःखद् घटना भएको छ ।
बेलुका ७ः२० बजेको समयमा बाह्रबिसे नगरपालिका ८ मानेश्वाँरामा मिन बहादुर तामाङको घरमा ग्याँस लिक भई एक्कासी आगोलागी हुँदा घरभित्र भएका तीन बालबालिका आगोबाट जली मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्ष कुमार बस्नेतले सिन्धुज्वालालाई जानकारी दिए ।
उनका अनुसरा मानबहादुरका १० र ६ वर्षका दुई छोरा तथा २ वर्षकी एक छोरीको आगोलागीबाट घटना स्थलमै ज्यान गएको हो ।
घरधनी तामाङलाई भने सामन्य जलेको अवस्थामा प्राथमिक स्वास्थ्यकेन्द्र बाह्रबिसे उपचार भएको सूचना अधिकारी बस्नेतले जानकारी दिए । डिएसी बस्नेतका अनुसार उक्त घटना ग्याँस लिक भएर भएको हो । ‘किराना पसल रहेको पक्की घरमा मिनबहादुरले चिया नास्ता पनि बनाउने रहेछन्’, डिएसपी बस्नेतले भने । घटना ग्याँस लिक भएर भएको प्रारम्भिक रिपोर्ट आएपनि विस्तृतमा अनुसन्धान भईरहेको उनले बताए ।
आगोलागीबाट करिब १० लाख बराबरको क्षति भएको र पक्की घर समेत क्षति पुगेको सूचना अधिकारी बस्नेतको भनाई छ । बाह्रबिसेबाट करिब ९ किलोमिटर माथि रहेको मानेश्वाँरामा प्रहरी टोली घटना घटेको एकघण्टा पुगेको थियो । प्रहरीले स्थानीयको समेत सहयोगमा आगो नियन्त्रण लिएको उनले जानकारी दिए ।
प्रहरीका अनुसार मृतक तीन बालकको शव पोष्ट मार्टमको लागि प्राथमिक स्वास्थ्यकेन्द्र बाह्रबिसेमा राखिएको छ । घटना पछि गाउँनै स्तब्ध बनेको स्थानीय लालकान्छा तामाङले जानकारी दिए ।