दुगुनागढी तथा होमस्टेको प्रचारप्रसारको लागि भोटेकोशीका युवाहरुले थाले विशेष अभियान

दिनेश दुलाल
पुष १७, दुगुनागढी (सिन्धुपाल्चोक) । भनिन्छ, नजिकको तिर्थ हेला । आफ्नै ठाउँको मठमन्दिर तथा ऐतिहासिक ठाउँहरुलाई वेवास्ता गरेर टाढाको तिर्थायात्रामा जानाले पुण्य कमाईन्छ भन्ने विश्वास समाजमा अझै कायम छ ।
हरेक ठाउँका युवायुवती देखि वृद्घवृद्घा सम्म आफ्नो ठाउँलाई विर्सेर टाढैको ठाउँलाई पर्यटनको गन्तव्य रोज्छन् । तर भोटेकोशी गाउँपालिकाका केही युवाहरुले भने आफ्नै ठाउँको विकासका लागि आन्तरिक पर्यटक भित्र्याउन विशेष चासोका साथ अभियाननै थालेका छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतसंग जोडिएको उत्तरी नाका भोटेकोशी गाउँपालिकाको ऐतिहासिक किल्ला दुगुनागढी तथा गढी मुनी बनेको होम स्टेको प्रचारप्रसारका लागि युवाहरुले विशेष अभियान नै चलाएका हुन् ।
अंग्रेजी नयाँ वर्ष सन २०२२ लाई त्याहाँका युवाहरुले गाउँपालिकाको एकीकृत बस्ती यार्मासिंमा विशेष कार्यक्रम गरेर धुमधामका साथ मनाएका छन् । त्यहाँ द्घारिका फाउण्डेसनले निर्माण गरेको एकीकृत बस्तीमा ‘होम स्टे’ सञ्चालन गरिएको हो । शेर्पा समुदायको बाहुल्यता रहेको एकीकृत बस्तीमा निर्माण गरिएको होम स्टे मा नयाँ वर्ष सुरुवात हुने अन्तिम दिन युवाहरुले शेर्पा समुदायको साँस्कृतिक प्रस्तुती सहित विशेष कार्यक्रम राखेर आन्तरिक पर्यटकलाई आर्कषण गराएका छन् ।
आफ्नै ठाउँको पर्यटकीय क्षेत्रलाई प्रवद्घन तथा विकास गराउन उक्त अभियान थालिएको माओवादी केन्द्रका जिल्ला नेता आङछिरी शेर्पाले सिन्धुज्वालालाई बताए ।
‘हामी ओझेलमा परेको ऐतिहाँसिक किल्ला दुगुनागढी तथा एकीकृत बस्तीमा बनेको होम स्टेलाई देश व्यापी प्रचार गरेर आफ्नै ठाउँमा पर्यटक भित्र्याउने अभियानमा लागेका हौं’, शेर्पाले भने ।
उसोत भूकम्पमा पूर्णरुपमा ध्वस्त बनेको गढीको संरक्षण गर्न पुरातात्विक विभाग तथा नेपाली सेनाले विशेष चासोका साथ लागे पनि दुगुनागढीको संरक्षण तथा संरवद्र्घनका लागि तीनवटै तहका सरकारले खासै चासो नदिएको उनको आरोप छ । ‘यसको संरक्षण तथा विकास गर्न सरकारललाई अभियान मार्फत घचघचाउन हामी युवाहरु जुर्मुराएका छौं’, भोटेकोशी गाउँपालिकाका नेता समेत रहेका शेर्पाले भने । गढीको पुर्ननिर्माणको लागि नेपाली सेनासंग परामर्श गरेर बनाईदिनु पर्नेमा ईन्जिनियरको ज्ञानको आधारमा मात्र बनाउन नहुने उनको तर्क छ ।
ऐतिहासिक गढी संगै जोडिएको एकीकृत बस्ती यर्मासिं होम स्टेलाई देशकै नमुना होम स्टेको रुपमा विकास गर्न लागिएको भोटेकोशी च्याम्बर अफ कमर्शका अध्यक्ष फुनु शेर्पाले जानकारी दिए । भूकम्पका कारण त्याहाँको पुरानो मौलिक साँस्कृतिक संरचनाहरु नष्ट भएपनि पुर्नजिवित गरिने शेर्पाले जनाए । दुगुनागढीमा आउने वाह्य पर्यटकहरुलाई राख्ने उद्देश्यले ३० औं वर्ष अगाडि थालिएको होम स्टे अवधारण जिल्लाकै पुरानो भएको उनको दावी छ ।
पर्यटकीय तथा धार्मिक क्षेत्र घुम्नको जिल्ला बाहिर निकै खर्च गरेर जानु भन्दा आफ्नै ठाउँको पर्यटन विकास गर्न नयाँ वर्षको सन्दर्भ पारेर कार्यक्रमको आयोजना गरिएको उनले बताए । ‘दुगुनागढी देशकै ऐतिहासिक गढी हो, घुम्नको लागि अन्यन्त्र जानुभन्दा अन्य ठाउँका पर्यटकहरुलाई भित्र्याउन पर्छ भनेर अभियान चलाएका हौं’, सामाजिक अभियान्ता शेर्पाले भने ।
उक्त अभियानमा कुनै एक राजनैतिक दलको मात्र नभई सबै राजनैतिक दलका नेता तथा कार्यकर्तालाई अभियानमा सामेल गरिएको उनले बताए ।
दुगुनागढीलाई चिनाउने शेर्पा संस्कृति तथा समुदायमा आधारित होम स्टे रहेको माओवादी केन्द्रकै वडा नम्बर ३ का वडाकमिटि अध्यक्ष निमा सोनाम शेर्पाको भनाई छ । एकै पटक ४० देखी ५० जना सम्मलाई राख्न मिल्ने होम स्टे तयार भईसकेको उनले जानकारी दिए ।
पर्यटकहरुलाई बास, खाना तथा आरमको लागि निर्माण गरिएको एकीकृत बस्ती होम स्टेमा पुग्न लार्चा सुख्खा बन्दरगाहबाट जम्मा ५ किलोमिटर मात्रै माथि पर्दछ । तर कच्ची सडक त्यसमाथि खाल्डाखुल्डी ज्यादै भएपछि पर्यटकलाई दुगुनागढी होम स्टेमा आईपुग्न निकै कठिनायी झेल्नु परेको होम स्टे सञ्चालक पासाङ शेर्पाको दुखेसो छ । ऐतिहासिक गढी जस्तो ठाउँमा पुग्न सडकको स्तर उन्नती गर्न गाउँपालिकाले खासै चासो नदिएको स्थानीयको आरोप छ ।
भूकम्पका कारण क्षति पुगेको गढीको मर्मत यसै बर्ष मात्र गरिएको हो । त्यस्तै द्घारिका फाउण्डेसनबाट निर्माण गरिएको यर्मासिं एकीकृत बस्ती गत दशैंमा पालिकाले स्थानीयलाई हस्तान्तरण गरेको थियो । एकै प्रकृतिका तलमाथि गरी ५१ निजी आवास रहेको एकिकृत बस्तीलाई नै स्थानीयले होम स्टेको रुपमा विकास गरेका हुन् । संस्थाको लगानीमा निर्माण भएको तीन कोटाको निजी आवासमा लाभग्राही प्रत्येकको एकलाख भन्दा माथि लगानी परेपनि आफूले चाहेको जस्तो भवन बनाउन नसकिएको आमा समुहकी अध्यक्ष पासाङबुटी शेर्पाको भनाई छ । उनका अनुसार निजी आवासमा संस्थाले शौचालय समेत नबनाएपछि स्थानीय आफैंले बनाएका थिए ।
होम स्टे सुचारु भएसंगै पर्यटकको आगमन बढ्न थालेको होम स्टे व्यवसायी बताउँछन् । त्याहाँ आउने पर्यटकलाई शेर्पा समुदायले गर्ने सत्कार, मायाँ र बोलीबचन नै स्मरणयोग्य रहेको सो क्षेत्रको भ्रमण गरेर फर्किका ताप्लेजुङका कृष्ण भुजेलले सिन्धुज्वालालाई बताए । उनका अनुसार पर्यटक होम स्टेमा पुग्न साथ शेर्पा समुदायले आफ्नो संस्कृति अनुसार सत्कार गर्छन् । पाहुनाले चाहेको अनुसारको परिकार बनाईन्छ । त्यस्तै बेलुका साँझ शेर्पा समुदायले पाहुनाहरुको लागि शेर्पा नाच लगाएत साँस्कृतिक मनोरञ्जन प्रदान गर्दछन् । पाहुनाहरुले समेत आफ्नो मौलिक अनुसारको नाचगान लगाएत साँस्कृतिक मनोरञ्जन लिने व्यवस्था मिलाएको सञ्चालकहरु बताउँछन् ।
स्मरण रहोस भोटेकोशी गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय गन्तब्य भैरबकुण्ड पुग्न पर्यटकहरुले सोही यार्मासिं होम स्टे, दुगुनागढीको रुट प्रयोग गर्दछन् । भोटेकोशी गाउँपालिकामा दुगुनागढी, भैरबकुण्ड, लिस्तीमाई, नारानथान, बन्जीजम्प लगाएत दर्जनौ पर्यटकीय स्थलहरुमा पर्यटकहरुका लागि महिनौं दिन सम्म घुम्ने स्थानहरु रहेको गाउँपालिकाले जनाएको छ ।
चीनसंग जोडिएको तातोपानी नाका समेत यहि गाउँपालिकामा पर्दछ । आम्दानीको अन्य आर्थिक स्रोत नभएको उक्त गाउँपालिकामा तातोपानी नाकाको विकल्पमा रहेको पर्यटकीय गन्तव्यहरुको व्यवस्थीकरण गर्न सके त्याहाँको जनताको रोजीरोटी तथा आर्थिक जीवन माथि उठ्न सक्ने जानकारहरु बताउँछन् ।