लिसंखुपाखर गाउँपालिकाले सुरुवात ग¥यो किसान सूचिकरण

दिनेश दुलाल
पुष ८, लिसंखु (सिन्धुपाल्चोक) । जिल्लाको लिसंखुपाखर गाउँपालिकाले आफ्ना पालिका भित्र रहेका किसानहरुको सूचिकरण कार्यक्रम सुरुवात गरेको छ ।
स्थानीय तहमा किसानहरुलाई सूचिकरण तथा परिचयपत्र दिने नेपाल सरकारकै योजना अन्र्तगत लिंसंखुपाखर गाउँपालिकाले सुरुवात गरेको हो ।

गाउँपालिकाले सूचिकरण गराउने सहज कर्तालाई अभिमूखिकरण तालिम दिईएर घर–घरमा पठाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले सिन्धुज्वालालाई बताए ।

उनका अनुसार पालिकाले ७ जना सहजकर्ता खटाएको छ । ७ वटा वडा रहेको पालिकामा प्रत्येक वडामा सहज कर्ताले किसानको सूचिकरण गर्नेछन् । सहजकर्ताले बिहिबारबाट सूचिकरण काम थालिने गाउँपालिकाले जनाएको छ ।
वास्तविक किसान पहिचान तथा परिचयपत्र वितरण गर्ने सरकारको योजना अनुसार उक्त योजना थालिएको प्रमुख प्रशासकीय अधिकृत दुलालले बताए ।

उनका अनुसार सहजकर्ताले सूचिकरण गरेर १५ दिन भित्र अनिवार्य रिपोर्ट पेश गर्नुपर्ने छ । सोही आधारमा परिचयपत्र प्रदान गरिने उनले बताए । परिचय पत्र संकेत नम्बर प्राप्त गरिसकेपछि नेपाल सरकारबाट प्राप्त सेवा सुविधा सहज रुपमा प्राप्त गर्ने दुलालले बताए । खाद्य अधिकार तथा सम्प्रभूता सम्बन्धी ऐन २०७५ को दफा १४ को उपदफा १ संग सम्बन्धित किसान सूचिकरण कार्यक्रम २०७८ मा किसानलाई साना वा ठूला भनेर नछुट्याईएको बरु सूचिकरणमा सबै खालका किसान समावेश हुने उनले बताए । ‘किसान भएको प्रमाणित चाँही हुनप¥यो साना र ठूला भन्ने हुँदैन’, दुलालले भने ।

उनका अनुसार सहज कर्ताले सूचिकरणको लागि सबै किसानहरुको विवरण संकलन साथै पहिचान गर्नेछन् । सहजकर्तालाई किसान नभएको शंका लागे उसको अवस्थाको बारेमा अवलोकन गर्नेछन् । त्यसपछि प्रमाणित गर्नुपरेमा सम्बन्धित वडा अध्यक्षले गर्नेछन् ।
सहजकर्ताले पाउने सुविधा भने सरकारले तोकिएको नियम अनुसार जनसंख्या घनत्वको आधारमा उपलब्ध गराईने उनले बताए ।

उनका अनुसार एकहजार सम्म घरधुरी रहेको वडामा प्रति किसान बराबर १५०, दुईहजार सम्मलाई १२५, तीनहजार सम्मलाई १०० र तीनहजार माथिको जनसंख्या भएको ठाउँमा ७५ रुपयाँ सहज कर्ताले प्राप्त गर्नेछन् ।
यो अभियान देशैभरी रहेपनि सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये लिसंखुपाखर गाउँपालिकाले थालनी गरिसकेको हो ।