
चौथो नगरस्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

अशोक पराजुली
पुष २, इर्खु (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिकामा चौथो नगरस्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । शुक्रबार नगरपालिकाका मेयर अमानसि तामाङले प्रतियोगिताको उदघाटन गरेका हुन् ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ प्रतियोगिता इर्खु स्थित इर्खु खेलमैदानमा सूरु भएको छ । खेल उदघाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले खेलले विद्यार्थीको शारिरीक, मानसिक तथा संवेगात्मक पक्षको विकास गर्ने धारणा राखे । त्यस्तै कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक रामप्रसाद गौतमले नगरपालिकाको समग्र विकास भित्र खेलकुदले पनि समृद्ध नगरको आधार निर्माण हुने तर्क पेश गरे । उनले राष्ट्रपति रनिङशिल्डले नगरभित्रका विभिन्न विद्यालयलाई राष्ट्रको संमृद्धिसंग पनि जोड्ने बताए ।
आजबाट सुरु भएको प्रतियोगिता रनिङशिल्ड प्रतियोगिता ३ दिन सम्म चल्नेछ । १८ विधाका खेलहरु हुने प्रतियोगितामा नगरपालिकाका २३ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगिताका विभिन्न विधाका खेलहरु आज सम्पन्न भएका छन् । जसमा कपर्दी, उसु, सटपुट, लङजम्प, १५ सय मिटर दौड, भलिबल खेल भएका छन् । नगरस्तरिय खेलकुदमा विद्यार्थीले सक्रियता पूर्वक सहभागिता जनाएको नगर खेलकुद विकास समितिका सह संयोजक अमृतमान श्रेष्ठले बताए ।
नगर खेलकुद विकास समितिका संयोजक गणेश श्रेष्ठको सभापतित्वमा भएको उदघाटन कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तिर्थ बहादुर श्रेष्ठ, ५ का अध्यक्ष नरमान श्रेष्ठ, १ का अध्यक्ष सानुकान्छा श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
नगर खेलकुद विकास समितिका सदस्य अशोक पराजुलीको स्वागत मन्तब्य तथा समितिका सह संयोजक अमृतमान श्रेष्ठको सञ्चालनमा उद्घघाटन कार्यक्रम सम्पन्न भएको हो ।