सुधारिदै तातोपानी भन्सार कार्यालय, पहिलो चौमासिकमै दोब्बरले राजश्व संकलन
दिनेश दुलाल
मंसिर ६, तातोपानी (सिन्धुपाल्चोक) । पछिल्लो पटक तातोपानी भन्सार कार्यालयमा उल्लेख्य सुधार भएको छ ।
कोरोनाको कहरको बीचमा पनि कार्यालयले सोचे भन्दा दोब्बरले राजश्व संकलन भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
पहिलो चौमासिकमा लक्ष्य भन्दा दोब्बरले राजश्व संकलन भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले सिन्धुज्वालालाई जानकारी दिए ।
उनका अनुसार तातोपानी भन्सार कार्यालयले एकवर्षमा एक अर्व ४७ करोड राजश्व संकलन हुने पक्षपण गरेको थियो तर पहिलो चौमासिकमै ९२ करोड राजश्व संकलन भएको हो ।
पहिलो चौमासिकमा ४५ करोडको पक्षपण गरिएकोमा दुईसय प्रतिशतले वृद्वि भएर राजश्व संकलन हुन सफल भएको उनले जानकारी दिए । ‘त्यहि अनुसारले राजश्व संकलन भए वार्षिक राजश्व लक्ष्य भन्दा दोब्बर संकलन हुन्छ तर निरन्तर कन्टेनर भ्यान आउन प¥यो’, गौतमले भने ।
मितेरी पुलबाट लार्चा सुख्खा बन्दरगाह सम्म आउने सडकको अवस्था भने निकै नाजुक रहेको उनको भनाई छ ।
चीनीया पक्षले खासा क्षेत्रमा मितेरी पुलसम्म सडक मर्मत गरेपनि नेपाल तिर भने दु्रत गतिमा सडकको पुनर्निमाण हुन सकेको छैन् । लार्चादेखि बाह्रबिसे सम्मको सडक झनै बिग्रिएको छ ।
यसैसन्र्दभमा गत सोमबार सभामुख अग्निप्रसाद सापकोटा र अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको बाह्रविसे देखि नेपाल चीन सिमा नाका मितेरी पुलसम्म स्थलगत अवलोकन गरी सो क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी लिएका थिए ।
सभामुख र अर्थमन्त्रीले २०७७ साल असार २४ गते राती आएको बाढी र पहिरोले पुरिएको जम्बु बस्ती क्षतिग्रस्त सडक, पुल र सो क्षेत्रको अवलोकन गरेका हुन ।
अवलोकन पछिको छलफलमा सभामुख सापकोटाले बाह्रबिसे देखि तातोपानी नाका सम्मको सडकको पुनर्निर्माण लगायतका विकास कार्यलाई बहुवर्षिय योजनाको रुपमा लैजानु पर्ने आवश्यकता औंल्याए । उनले त्यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।
भूकम्प, बाढी र पहिरो जस्ता विपत्तिका कारण बाह्रविसे देखि तातोपानी सम्मको सडक व्यवस्थित गर्न चुनौति भएको उनको भनाइ थियो । सभामुख सापकोटाले सिमा नाकाबाट आयात निर्यात सहजिकरणका लागि चिनियाँ अधिकारीहरुसँग छलफल भइरहेको जानकारी दिँदै छिट्टै थप सहज हुने विश्वास व्यक्त गरे । सो सडक खण्ड सुधारका लागि सरकारी प्रतिवद्धता अनुसार परिणाम आउने गरी काम अघि बढ्ने विश्वास व्यक्त गरे ।
छलफलमा अर्थ मन्त्री जनार्दन शर्माले सडक सुदृढीकरण र नाका ब्यवस्थित गर्न सरकारले काम अघि बढाउने जानकारी दिए । मन्त्री शर्माले सो क्षेत्रको सडक निर्माणका लागि अर्थ र भौतिक मन्त्रालयका सचिबले समन्वय गरेर कार्य गर्न निर्देशन दिए । उनले सरकारले चीनसँग समन्वय गरेर सडक निर्माण र भन्सार सहजीकरणका लागि पलह गर्ने जानकारी दिँदै राजमार्ग व्यवस्थित गर्न काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
भन्सार विभागका महानिर्देशक सहितको सो छलफल भूकम्प, बाढी र पहिरोका कारण बिग्रेको अरनिको राजमार्ग अन्तरगत बाह्रबिसे तातोपानी खण्डको ब्यवस्थित निर्माण र नाकाको सहज सञ्चालनमा केन्द्रीत रहेको थियो ।
हरेक बर्ष पहिरो गएर सडक अवरुद्ध भइरहने कोदारी क्षेत्र, बाढीले क्षति पुगेको लिपिङ पुल र नेपाल चीन सिमा क्षेत्र मितेरी पुलको समेत अवलोकन गरिएको थियो ।