मेलम्ची र हेलम्बु क्षेत्रको पुनर्निर्माण नगरेसम्म खानेपानी काठमाडौं लैजान नदिने मेयर अर्यालको उदघोष

दिनेश दुलाल
कार्तिक ३०, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले मेलम्ची बाढीबाट क्षति निजी तथा सार्वजनिक सम्पतिको पुनर्निर्माण नगरे सम्म मेलम्ची खानेपानी काठमाडौंमा लैजान नदिने उदघोष गरेका छन् ।

ह्योल्मो समितिको ११ वार्षिक साधारणसभाको उदघाटन गर्दै मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याल

ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिको एघारौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मेयर अर्यालले उक्त धारणा राखेका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका अर्यालले भने, ‘जतिबेला सम्म यहाँका जनताहरुको समस्याहरुका बारेमा एउटा विश्वास दिलाउन सक्ने अवस्था हुँदैन त्यतिबेलासम्म मुहान क्षेत्रको कामलाई बन्द गरिनु पर्दछ ।’

मेलम्ची खानेपानी आयोजनाले कसरी काम गर्दैछ भनेर प्रतिप्रश्न गर्दै मेयर अर्यालले आयोजनाले जनतालाई जानकारी गराउन पर्नेमा उल्टै समितिको साधारणसभामा समेत खानेपानी वोर्ड अध्यक्ष उपस्थिति नभएको भन्दै आक्रोस पोखे । मेलम्ची वाढीले जनताको नीजि तथा सार्वजनिक अरबौंको सम्पति क्षति गराएपनि प्रभावितहरुको अवस्था प्रति आयोजना मुकदर्शक बनेको उनको आरोप छ । ‘मेलम्ची खानेपानी के गर्दै छ ? काहाँ सुतिरहेको छ ?’, मेयर अर्यालले भने, ‘ हाम्रो निम्ति भन्दा पनि मेलम्ची खोलाको मुहान जोगाउनको लागि मेलम्ची खानेपानी आयोजनाको के कार्यक्रम छ ?’ ।

सूचना प्राप्त गर्ने हक मेलम्ची प्रभावित जनतालाई भएपनि आयोजनाले जनताप्रति कुनै उत्तरदायी भूमिका पुरा नगरेको बताए । आयोजनाले मेलम्ची बाढीले भत्किएका सडकहरु प्रति कुनै चासो नदिएपछि मेलम्ची नगरपालिकाले आफ्नै खर्चमा सडक मर्मत गरेको समेत खुलासा गरे ।
ह्योल्मो सिन्धुले प्राकृतिक प्रकोपका सन्दर्भमा बजेटलाई व्यवस्थितिकरण गरेर सदुपयोग गर्न उनले आग्रह गरे ।
कार्यक्रममा खानेपानी आयोजनाका बोर्ड सदस्य चन्द्रबहादुर थापाले ह्योल्मो समितिलाई यस पटकको बजेट समित भएकोले प्रभावितहरुको माग अनुसार कार्यक्रम बनाउन नसकिएको धारणा राखे ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अन्य संघसंस्थाका प्रतिनिधि लगाएतले साधारणसभाको शुभकामना राखेका थिए ।
कार्यक्रमका सभापति ह्योल्मो समितिका अध्यक्ष उपेन्द्र तामाङले जनताको जल्दोबल्दो समस्याई उठान गर्ने गरी आगमी दिनमा दिर्घकालिन रुपमा मेलम्ची क्षेत्रको विकासको निमित्त ल्याउने कार्यक्रमको सन्दर्भमा छलफल अगाडि बढाउने उनले प्रतिद्वता जनाए ।

कार्यक्रममा सुपका अध्यक्ष तामाङले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । गत साल दशौं वार्षिक साधारणसभाबाट स्विकृत कार्यक्रम मध्ये शिक्षा तर्फ २३ वटा, स्वास्थ्य तर्फ ६ वटा, आयआर्जन कार्यक्रम तर्फ १७ वटा, पूर्वाधार विकास तर्फ ८३ वटा र मध्यवर्ती क्षेत्र तर्फ १ गरी जम्मा १०३ वटा कार्यक्रमहरु सञ्चालन भएको उनले जानकारी दिए ।

चालु आ.व २०७८÷०७९ को कार्यक्रम सञ्चालन गर्नको लागि समितिलाई खानेपानी आयोजनाबाट ७ करोड बजेट परेको हो । गत साल भन्दा यस बर्ष २ करोड कमी आएको उनले बताए । मेलम्ची नगरपालिका ११ र हेलम्बु गाउँपालिका ७ वडाहरु ह्योल्मो समितिको कार्यक्षेत्र रहेको छ ।