संविधान र प्रतिनिधि सभाको रक्षाका लागि समय खर्चिएको छु –सभामुख सापकोटा
२८ असोज, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले नेपाल आमाको सेवा गर्न अरु सबै कुरालाई गौण बनाएर देशको व्यवस्था, संविधान र प्रतिनिधि सभाको रक्षाका लागि सबैभन्दा बढी समय दिएको बताएका छन् ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा–४ मा बिहिबार फ्याफुल्ला युवा क्लबको नवनिर्मित भवन उदघाटन पछिको सम्बोधनका क्रममा सभामुख सापकोटाले आफ्नो बुद्धि, विवेक, योग्यता र क्षमताले भ्याएसम्म २४ सै घण्टा जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आफूले आम नागरिकको इज्जत र प्रतिष्ठामा आँच आउने कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने, ‘म जनताको शीर झुक्ने कुरा कहिल्यै गर्ने छैन ।’ देशभक्ति र सदाचारमा कहिल्यै सम्झौता नगर्ने तथा मातृभूमीका खातिर जीवनको अन्तिम घडी सम्म कसैसंग नझुक्ने सभामुख सापकोटाले उदघोष गरेका छन् ।
भारतीय देशभक्त भगतसिंङको स्मरण गर्दै सभामुख सापकोटाले देशभक्ति भन्दा ठूलो केही नहुने स्पष्ट पारे । उनले भने ‘नेपाल आमा भन्दा ठूलो यो दुनियाँमा हाम्रा लागि केहि पनि छैन ।’
दुइबर्ष यता राष्ट्रले बेहोरिरहेको कोभिड–१९, राजनैतिक र प्राकृतिक प्रकोपको संकट पार हुँदै गएको बताउँदै सभामुख सापकोटाले समृद्धिको यात्रामा लाग्नुपर्नेमा जोड दिनु दिए । नवयुवाहरुको उर्जा र उत्साहलाई देश विकासमा लगाउनु पर्नेमा समेत उनले जोड दिए । सभामुख सापकोटाले अहिले नेपाल महान बसहको प्रक्रियामा रहेकोले देशका विकृति, विसंगति, भ्रष्टाचार सबै निमिट्यान्न हुने र नयाँ समाज निर्माण हुने विश्वास व्यक्त गरे ।
सभामुख सापकोटाको स्थानिय विकास पूर्वाधार कार्यक्रमबाट २० लाख, प्रदेश सरकारबाट ३० लाख र बलेफी गाउँपालिकाबाट पाँच लाख गरी ५५ लाख लगानीमा फ्याफुल्ला क्लबको सुविधान सम्पन्न दुइतल्ले भवन र खेल मैदान निर्माण गरिएको हो ।