एमाले त्रिपुरासुन्दरी गाउँ अधिवेशनको तयारीमा, सबै वडाको विस्तारित बैठक सम्पन्न

असोज ९, पिस्कर । नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपार्टीले आउँदो अधिवेशनको लागि पार्टीका गतिविधिहरुलाई पूर्णता दिएको छ ।


कार्तिक ६ र ९ गते वडा देखि गाउँ अधिवेशनको तयारीमा रहेको त्रिपुरासुन्दरी गाउँपार्टी कमिटिले गाउँपार्टी देखि वडा सम्मको विस्तारित वैठकहरु सम्पन्न गरिको एमाले जिल्ला कमिटि सदस्य एवं त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले सिन्धुज्वालाई जानकारी दिए ।

उनका अनुसार पालिका भरीका ६ वटै वडाको विस्तारित बैठक सम्पन्न भएको हो । ‘पहिला पालिका स्तरीय विस्तारित वैठक बसेर वडाको कमिटिको बैठक सम्पन्न गरेका हौं’ अध्यक्ष श्रेष्ठले भने । उनका अनुसार कार्तिक ६ गते वडाको अधिवेशन र ९ गते गाउँपार्टी कमिटिको अधिवेशन हुने छ ।

पार्टी विभाजनको असर केन्द्र तथा जिल्लामा परेपनि गाउँपालिकाभरी खासै प्रभाव नपरेको जिल्ला नेता समेत रहेका श्रेष्ठले बताए । कार्तिकमा हुने अधिवेशनको तयारी संगै पार्टी सदस्यता वितरण र सेलकमिटि निर्माणको कामलाई केही दिनमै तिब्रतामा गरिने पालिका अध्यक्ष श्रेष्ठको भनाई छ ।