तातोपानी नाका पूर्ण रुपमा खुलाउन दुई संघले गराए प्रधानमन्त्रीको ध्यानकर्षण
घोषणा गरिएको ‘विपदग्रस्त क्षेत्र’ अनुसार कार्यान्वयन गर्न माग
दिनेश दुलाल
साउन ३१, काठमाडौं । बाढी पहिरो लगाएत प्राकृतिक विपत्तीको सामाना गरिरहेको सिन्धुपाल्चोकको पछिल्लो अवस्थाको बारेमा दुईवटा वाणिज्य संघहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानकर्षण गराएका छन् ।
व्यापारिक व्यवसायिकहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघले प्रधानमन्त्री देउवालाई भेटेर तातोपानी नाका लगाएत बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको अवस्था सुधार गर्न माग गरेका छन् ।
प्रम देउवालाई नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक कुमार श्रेष्ठ र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) लगाएतको टोलीले शनिबार ज्ञापनपत्र बुझाएको हो ।
बाराम्बर प्राकृतिक प्रकोपको कारण राजधानी काठमाडौं संग जोडिएको सिन्धुपाल्चोक जिल्लालाई हालै विपदग्रस्त क्षेत्र घोषणा गरिए पनि कार्यान्वयन नभएपछि प्रधानमन्त्रीको ध्यानकर्षण गराईएको सिन्धुपाल्चोक उद्योगवाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेत ( राजकुमार) ले जानकारी दिए । ‘हामीले तातोपानी नाका लगाएत समग्र सिन्ध्पाल्चोकको अवस्थाको बारेमा प्रधानमन्त्री ज्युलाई ज्ञापनपत्र सहित ध्यानकर्षण गराएका छौं’, अध्यक्ष बस्नेतले भने, ‘प्रधाानमन्त्री ज्यु सकरात्मक हुनुहुन्छ ।’
कोभिड–१९ को प्रकोपले जिल्लाव्यापी थप मारमा परेको अवस्थामा देशकै राजश्वमा उल्लेख्य योगदान गर्ने तातोपानी नाका ठप्प हुँदा समस्या थप जटिल बनेको उनले बताए । नाका खोल्ने सन्दर्भमा आश्वासन प्राप्त भएपनि नाका खुलाएर व्यापार व्यवसाय सञ्चालनमा प्रभावकारी हुन नसकेको उनले दुखेसो पोखे ।
पूर्व मन्त्री मोहनबहादुर बस्नेत समेत संलग्न व्यापारिक व्यवसायी संघहरुको टोलीले प्रम देउवाको कार्यकालमा चीन सरकारसंग कुटनीति पहल गरी तातोपानी नाका पूर्ण रुपमा खुलाउन माग गरेका छन् ।
‘संकटग्रस्त जिल्ला घोषणा त गरियो तर प्रकोप न्युनिकरण, रोकथाममा उल्लेख्य काम भएका छैनन्’, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले भने, ‘पीडित जनताका समस्या जस्ताका तस्तै छन् ।’
मेलम्ची बाढीमा परेका नागरिकहरुको समस्या समाधान हुन समेत नसकेको उनीहरुको भनाई छ । व्यवसायीहरुका अनुसार पटक पटकको बाढीका कारण अरनिको राजमार्गको लिपिङ पुल, कोदारी पहिरो डाकलाङ पहिरो, बुल्कोटे र लार्चा पुल लगाएतमा क्षति पुगेको छ । बाह्रबिसेबाट २६ किलोमिटर माथि कोदारी सम्मका सडक क्षतविक्षत अवस्थामा छ । पहिरोले २०७४ साउनमा भाँच्चिएको लार्चा पुल अहिले सम्म बन्न सकेको छैन् ।
तर हेलम्बु तथा मेलम्चीमा बाढीले पु¥याएको अति क्षतिग्रस्त क्षेत्रमा सरकारद्वारा निर्माण गर्ने भनिएका चार वटा मोटेरवल यान्त्रिक पुल तत्काल प्रम देउवाले निर्माणको आदेश दिएको प्रति भने दुईवटा वाणिज्य संघले धन्यवाद समेत दिए । े ।
स्मरण रहोस सिन्धुपाल्चोक जिल्लामा यसअघि २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, २०७३ को भोटेकोशी बाढी २०७७ को घुम्थाङ, जम्बु तथा लिदी पहिरो तथा २०७८ असार १ र १७ गतेको मेलम्ची र ईन्द्रावतीमा आएको बाढीका कारण प्राकृतिक रुपमा विपदग्रस्त बन्दै आइरहेको छ । त्यस्तै कोदारी, तातोपानी, चाकु, बाह्रबिसे, लामोसांघु, खाडीचौर, बलेफी, जलविरे, ढाँडे, सुकुटे ढाँडखोला, मेलम्ची, पाँचपोखरी थाङपाल र हेलम्बु लगाएत क्षेत्रहरु नदि किरानमै रहेकोले पहिरोको जोखिममा रहेको दुई वाणिज्य संघको ठहर रहेको छ ।