विद्यालय जोगाउन शिक्षकहरुले नै थाले सहयोग संकलन अभियान

साउन ६, तालामाराङ (सिन्धुपाल्चोक) । मेलम्ची बाढीले क्षति पु¥याएको हेलम्बु गाउँपालिकाको तेर्से मावि जोगाउन त्यहि कार्यरत शिक्षकहरुले सहयोग संकलन अभियान थालेका छन् ।
बाढीको कारण विद्यालयको भौतिक संरचना आंशिक रुपमा बगाएपछि बाँकी संरचना सुरक्षित गर्न उनीहरुले आफ्नै तलबभत्ताबाट अभियान थालेका छन् । तेर्से माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफुले खाइपाई आएको तलबभत्ता विद्यालय मर्मत कोषमा जम्मा गर्ने भएका छन् । विद्यालयमा कार्यरत २९ जना शिक्षक कर्मचारीहरुले जोखिमयुक्त रहेको विद्यालय संरक्षण तथा कक्षाकोठा ब्यबस्थापनका लागि ७ दिन बराबरको तलबभत्ता विद्यालयको कोषमा जम्मा गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक कृष्ण ढुंगानाले जानकारी दिए ।
विभिन्न क्षेत्रबाट भएको सहयोगमा खोलामा जाली भरेर विद्यालयलाई थप क्षति हुनबाट जोगाउन विद्यालय लागिपरेको विद्यालय व्यस्थापन समितिका अध्यक्ष नील बहादुर शाहीले जानकारी दिए । उनका अनुसार विद्यालयको कोषमा विभिन्न ब्यक्ति, सघंसस्था, पूर्वविद्यार्थी अभिभावक लगायतले सहयोग गरिरहेका छन् । सबैको साथ र सहयोगले विद्यालयमा अहिले वैकल्पिक कक्षाकोठा र विद्यालय जोगाउनका निम्ति ग्याविन जाली लगाउने काम भइरहेको उनले बताए । सबैको साथ र सहयोगले उठ्दै गरेको विद्यालय उठाउनका निम्ति शिक्षक कर्मचारीले गरेको निर्णयले थप उर्जा मिलेको अध्यक्ष शाहीको भनाई छ ।