सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्षमा बस्नेत निर्विरोध, अन्य पदाधिकारीमा मतदान हुनसक्ने
तारा नेपाल(प्रकृित) चैत ४, बाह्रविसे (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको आगमी नेतृत्वको लागि अध्यक्षमा होमबहादुर बस्नेत (राजकुमार) निर्विरोध चयन भएका छन् । संघको २५ औं साधारणसभा तथा १० औं अधिवेशनको पूर्व सन्ध्यामा आज सुरु भएको उम्मेद्वारी दर्तामा अध्यक्ष पदका लागि बस्नेत बाहेक अन्यको उम्मेद्वारी नपरेपछि उनी निर्विरोध भएको सिन्धुपाल्चोक उद्योगवाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले सिन्धुज्वालाई बताए । उनका अनुसार अध्यक्ष बाहेक अन्य पदाधिकारीका लागि समेत सहमतिकै आधारमा चयन गर्न सिन्धुपाल्चोक उद्योगवाणिज्य संघले पहल गरिरहेको छ । तर उद्योगवाणिज्य संघमा आवद्व सदस्यहरुले भने मतदान हुने सम्भावना अडकल गरेका छन् ।
क्षमादेवी ग्रुपसँग आवद्ध निर्विरोध निर्वाचित बस्नेत हालका बरिष्ठ उपाध्यक्ष हुन् । समाजसेवी समेत रहेका बस्नेत सबै राजनीतिक दल आस्था राख्ने सदस्यहरुले उनलाई समर्थन गरेकाले अध्यक्षमा निर्वरोध भएको बताईएको छ । यसअघिकाका सबै अध्यक्षहरुले पनि उनलाई अध्यक्षका लागि सघाउ गरेका थिए ।
संघको कार्यसमितिको पदाधिकारीका लागि सदस्यबाट प्रक्रियागत रुपमा मनोनित गरि छानिने छ । १७ सदस्यका लागि हुने मतदानका लागि आज तोकिएको मनोनयन दर्तामा ४२ जनाको उम्मेद्वारी दर्ता भएको हो ।
उद्योगी, व्यवसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २५ औं साधारण सभामा संघमा २ हजार ३२ सदस्य छन् । ७ गते हुने संघको साधारणसभा तथा अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष श्रेष्ठले बताए ।