सुनकोशी तेश्रो जलविद्युत आयोजनाको असर प्रभाव बारे अन्तरक्रिया
दिनेश दुलाल
फागुन १५, भिमटार (सिन्धुपाल्चोक) । सुनकोशी तेस्रो जलविद्युत आयोजना र यसको असर प्रभावबारे ईन्द्रावती गाउँपालिकाको भिमटारमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ६० प्रतिशत भन्दा बढी ऐलानी जग्गा रहेका भिमटारका किसानको अधिकार सुरक्षित गर्ने सबालमा भएको अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला नेताहरुको उपस्थितिमा भएको हो ।
आयोजनाको बिस्तृत अध्यायनको क्रममा परामर्श दाताको तर्फबाट जग्गा धनी पूर्जा माग्न भिमटारमा गएपनि भिमटारको झण्डै ६० प्रतिशत जग्गा ऐलानी भएको नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान सामाजिक विकासमन्त्री युवराज दुलाले बताए । पूर्जा भएको जग्गालाई मात्र मुआब्जा दिने भनेपछी ऐलानी जग्गाको सवालमा जनस्तरबाट पूर्जा पाउनु पर्ने माग अगाडि बढाइएको उनले बताए । नेकपा ईन्दावती गाउँपालिका वडा नम्बर १२ भिमटार वडा समितीको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय जनताले ऐलानी जग्गाको पुर्जा प्राप्तिको लागि नेकपा र जनप्रतिनिधिलाई अनुरोध गरेका थिए ।
सो कार्यक्रममा सहभागी नेकपाका नेताहरुले ऐलानी जग्गामा नै धेरै पुस्तादेखि खेतिपाती गर्दै आएकोले किसानको हक अधिकार सुनिश्चित हुनुपर्ने तथा ऐलानी जग्गालाई पनि पूर्जा सरह नै मुआब्जाको लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । सुनकोशी तेस्रो जलविद्युत आयोजनाबाट प्रभावित एलानी जग्गाको लालपुर्जा विशेष तथा साँस्कृतीक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री दुलालले सुनकोशी तेस्रो जलविद्युत आयोजना आफुहरुकै पहलमा भएकाले जनताकै हितमा काम गरिने प्रतिवद्वता जनाए ।
नेकपाकै पहलमा सिन्धुपाल्चोक, रामेछाप र काभ्रे लगाएत जिल्लालाई समेटिने गरी हुन लागेको सुनकोशी तेस्रो जलविद्युत आयोजना सुनकोशी र ईन्द्रावती खोला किनाराहरुको कायापलट गरिने उनले बताए । आयोजनाले विकासको नयाँ मोडेल स्थिापित गर्ने तथा नदि किरानमा बस्ने सबै जनताको जीवन स्तरमा परिपर्तन ल्याउने समेत दुलालले ठोकुवा गरे । उनका अनुसार मेलम्ची देखि दोलालघाट सम्म २० भन्दा बढी टारहरुमा माझी दनुवार बस्ती रहेको छ । अल्प संख्यक जाती रहेका उनीहरुमा शिक्षा, स्वास्थ्य रोजगारी र हरेक विकासमा पछाडी परेको हुनाले पार्टीले पहल गरेको उतले बताए । ‘तपाईहरुमा बालुवा चालेर र नदिका ढुङ्गा केलाएर खेती गरेर आफ्नो जिविकोपार्जन गर्नुपर्ने एउटा वाध्यता छ’, उनले भने । त्यस्तो अवस्थामा नेकपाको पहलमा रोजगारी र अवसरहरुको सिर्जना गर्न परियोजना सार्थक हुने उनले विश्वास दिलाए ।
कार्यक्रममा नेकपाका नेता सुभाष कर्माचार्यले जिल्लामा राष्ट्रकै गौरवको आयोजना हुँदा सिन्धुपाल्चोकका जनतालाई अवसर दिने सबालमा कुनै कसर बाँकी नराखिने धारणा राखे । कार्यक्रममा नेकपाका नेता झम्क नेपाल लगाएत नेताहरुले समेत जनताको मागलाई पहिलो प्राथमिकतामा राखेर पार्टीले पहल गरिरहेको बताए । कार्यक्रममा झम्क नेपाल, वीर बहादुर तमाङ, नुन ब.सापकोटा लगाएत नेताहरु सहभागी थिए ।
पाँच सय ३६ मेगावाट क्षमताको सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत आयोजनाको प्रभाव न्युनिकरणको कार्यक्रम संगसंगै प्राविधिकतर्फको अध्ययनको काम ९० प्रतिशत सम्पन्न भएको समेत आयोजनाले जनाएको छ । आयोजनाको अनुसार आयोजनाको प्राविधिकतर्फ सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना आसपासको चट्टानहरुको अवस्थाको बारेमा ड्रिलिङ गर्नेलगायतका प्रारम्भिक इन्जिनियरिङ डिजाइनको काम समेत सम्पन्न भएको जनाएको छ ।
सांघायी इन्भेष्टीगेशन एण्ड डिजाइन रिसर्च इन्ष्टिच्यूट र नेपाली परामर्शदाता इन्भारोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्टेन्सीले संयुक्त रुपमा आयोजनाको अध्ययनको काम गरिरहेका छन् ।
विभागका अनुसार सुनकोशी तेस्रो र सुनकोशी दोस्रो आयोजनाको अध्ययनका लागि एकमुष्ट रुपमा १९ करोड रुपियाँ बजेट विनियोजन भएको छ । यी दुई आयोजना अध्ययनका लागि ३३ करोड रुपियाँ बजेट लाग्ने बताईएको छ । आयोजनाका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदी अन्र्तगत काभ्रेको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभूघाटमा विद्युत आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । आयोजना निर्माण हुन लाग्ने समय तथा अनुमानित लागत भने खुलाईएको छैन् ।