लाखौंको मानव सागर माठमाडौंमा, १४ बर्ष यताकै ठूलो जनप्रर्दशन भएको नेताहरुको दावी (फोटो फिचर सहित)
९ माघ, काठमाडौं । संसद् विघटनविरूद्ध शुक्रबार राजधानीमा गरिएको शक्ति प्रदर्शनमा लाखौंको मानव सागर उत्रिएको छ । राजधानी लगाएत ३ वटा प्रदेशबाट आज उल्लेख्य जनसहभागिता भएको शक्ति प्रर्दशन १४ वर्ष यताकै ठूलो जनप्रर्दशन भएको नेताहरुले दावी गरेका छन् । जनताको उत्साहाजनक सहभागिता देखेपछि नेकपा प्रचण्ड–माधव समूहका नेताहरु समेत उत्साहित बनेका छन् ।
प्रदर्शनमा देखिएको जनसहभागिताबाट यो समूहका नेताहरु सन्तुष्ट देखिन्छन् । सडकमा नउत्रिएको पार्टीपंक्तिमा पनि यो प्रदर्शनले उत्साह थपेको नेताहरुको समीक्षा छ । आज भएको बिशाल जनप्रर्दशनमा बागमति, गण्डकी र २ नम्बर प्रदेशबाट मानिसहरु गाडी रिर्जभ गरी काठमाडौंमा आईरिएका थिए ।
उक्त विशाल विरोध सभालाई नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुषाल लगाएत नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले न्यायाधीशहरुलाई अराजकताको साक्षी नबन्न आग्रह गरेका छन् । पार्टीभित्र लामो संघर्ष र बहस पछि पनि केपी ओलीलाई तह लगाउन नसकेको जिकिर गर्दै प्रचण्डले केपी ओलीले अबको लडाई हारिसकेको दावी गरे । ‘न्यायपूर्णको लँडाई केपी ओलीले हारीसके अब हामीले जितिसक्यौं’, प्रचण्डले भने । त्यसैगरी कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले संसद पुर्नस्थापना नभएसम्म आन्दोलन नरोकिने जनाउ दिंदै फेरि केपी ओलीसँग कुनैपनि हालतमा नझुक्ने ठोकुवा गरे ।
कार्यक्रममा देखिएको जनसहभागिताले तटस्थ बसेका, यताउता गर्ने र सोच्नेहरुलाई पनि प्रभावित बनाएको कार्यक्रममा सहभागी नेताहरुको दावी छ ।
एक लाख मानिस सडकमा उतार्ने प्रचारसहित यो समूहले गरेको शक्ति प्रदर्शनका कारण काठमाडौंका सडकहरु शुक्रबार दिनभरजसो अस्तव्यस्त बने । पर्यटन बोर्ड र राष्ट्रियसभा गृह अगाडिको मूल सडकमै ‘टी आकार’ बनाएर आयोजित सभाका कारण उपत्यकाका धेरै रुटको यातायात प्रभावित बनेको थियो ।
प्रदर्शनबाट मुख्य गरी नेकपाको कार्यकर्ता पंक्ति बढी उत्साहित बनेका थिए । पुस १४ मा उपत्यकास्तरीय प्रदर्शन गरेको माधव–प्रचण्ड समूहले अन्य दल र नागरिक समाजसहित संयुक्तरुपमा शक्ति प्रदर्शन गर्ने प्रयास गरेको थियो । तर, शुक्रबार एक्लै प्रदर्शनको आयोजना गरेको हो ।
नेकपा वैधानिकरुपमा विभाजित भइनसकेकाले नेपाली काँग्रेस, जनता समाजवादी पार्टीजस्ता ठूला शक्तिहरू संयुक्त प्रदर्शनका लागि अहिलेसम्म राजी भएका छैनन् ।
संयुक्त प्रदर्शनको सम्भावना तत्काल नदेखिएपछि माघ ३ मा बसेको स्थायी कमिटी बैठकले एकलरुपमा शक्ति प्रदर्शनको निर्णय गरेको थियो । एक साताको तयारीमा यो समूहले राजधानीमा जनता उतारेर राजनीतिक दबाव सिर्जना गरेको छ ।
उपत्यकाका विभिन्न ९ स्थानबाट निकालिएको जनप्रदर्शनका लागि राजधानी उपत्यका, बागमती प्रदेशका सवै जिल्ला, प्रदेश–२ र गण्डकीका केही जिल्लाबाट कार्यकर्ता ल्याइएको थियो ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य घनश्याम भुसालले एउटै स्वरमा संसद् विघटन पछि ओली प्रतिको बुझाइबारे प्रष्ट्याउने प्रयास गरे ।
शुक्रबारको शक्ति प्रदर्शनमार्फत् नेताहरुले नागरिकहरुको स्वतन्त्र पंक्तिको विश्वास जित्न प्रयास गरे । वक्ताको संख्या सानो बनाएर सभालाई सम्बोधन गरेका नेताहरुले लगभग एउटै भाषामा संयुक्त अपिल गरे– ओलीसँगको दृष्टिकोणमा हामी प्रष्ट छौं । पहिले तह लगाउन नसकेर कमजोरी भयो, अब ओली प्रवृत्तिको अन्त्य नभएसम्म आन्दोलन रोक्दैनौं ।
ओलीबाट फैलाइएको भ्रमलाई यो शक्ति प्रदर्शनले चिर्ने काम गरेको सहभागी एक नेताले बताए । शुक्रबारको शक्ति प्रदर्शनलाई सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि नैतिक दबाव दिने उद्देश्यका रुपमा समेत यो समूहले लिएको देखिन्छ । सम्बोधनका क्रममा नेता भुसालले ‘सेटिङ बाहेक अरु कुनै आधारमा संसद् पुनःस्थापना नरोकिने’ ठोकुवा नै गरे ।
सर्वोच्चमा संसद् विघटनविरुद्धको मुद्दा विचाराधीन रहेका बेला यसअघि पनि यो समूहका नेताहरुले अदालत सेटिङमा पर्न नहुने अभिव्यक्ति दिँदै आएका थिए । अझ, उनीहरुले बृहत जनप्रदर्शन मार्फत् अदालतलाई नैतिक दबावमा पार्न खोजेको देखिन्छ ।
शुक्रवारको जनप्रदर्शन संसद् पुनःस्थापना नभए जनआन्दोलन गरिने चेतावनीपूर्ण संकेत दिन आयोजना गरिएको नेताहरू स्वीकार्छन् । सँगै, निर्वाचन आयोगको वैधानिकताप्रति पनि खबरदारी गर्न यो प्रदर्शनलाई गरिएको बताउँछन् ।
स्मरण रहोस शुक्रबारको प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शनपछि ओली समूहले पनि त्यसको काउन्टरका लागि माघ २३ गते काठमाडौंमा बृहत सभा गर्ने भएको छ ।