कालोपत्रे नसकिदै खाल्डाखुल्डीमा परिणत जिरोकिलो–मेलम्ची सडक

दिपक चालिसे
मंसिर १८, मेलम्ची (सिन्धुपाल्चोक) । काभ्रे जिल्लाको जिरोकिलो देखि मेलम्ची सडक कालोपत्रे नसकिदैं खाल्डाखुल्डीमा परिणत भएको छ ।
एसियाली विकास बैंक (एडीबी) को झण्डै ९० करोडको लागतमा सडकको स्तरउन्नती थालिएको उक्त सडक निर्माण थालेको दुईवर्ष नपुग्दै खण्डहर बन्न थालेको छ । गत वर्ष नै पूरा गर्ने लक्ष्य राखेर निर्माण कार्य भइरहे पनि सडकको काम समेत सुस्त गतिमा चलेको मेलम्ची नगरपालिका मेयर डम्बर अर्यालले बताए । ‘स्थानीय सरकारको तर्फबाट हामीले काम छिटो सक्न तथा गुणस्तरीय बनाउन आग्रह गर्दा समेत काम प्रभावकारिता बन्न सकेको छैन्’, मेयर अर्यालले भने । पछिल्लो काम रोकिएको सन्दर्भमा बुझ्दा निर्माण सामग्री (गिटी) अभावको कारण भएको आफुले पाएको मेयर अर्यालले बताए । निर्माणको जिम्मेवारी लिएर कालोपत्रे थालिएको केही महिनामै सडक खाल्डाखुल्डीमा परिणत भएको मेलम्ची नगरपालिका–१२ स्थानीय बिरबहादुर तामाङको भनाई छ । उनका अनुसार सडकखण्डको कुन्ता, सिपाघाट, फटकेश्वर लगायतको सडकमा गाडी गुडाउनका लागि निकै जोखिम छ ।
सडकमा जताततै पानी बगेको छ । जताततै खाल्डैखाल्डा छन् । सडकको मर्मत दस वर्षअघि मेलम्ची आयोजनाले गरेको कालेपत्रे प्रयोगमै नआई भत्केपछि सरकारले अर्को टेन्डर गरेको थियो ।

स्थानीयका अनुसार गत वर्ष वर्षा र मुआब्जा वितरणको समस्याले काममा बाधा पुगेको निर्माणको जिम्मा लिएको स्वछन्द निर्माण सेवाले जनाएपनि अझै कामले प्रगति पाएको छैन् । सरकारको १२ प्रतिशत र एडीबीको ८८ प्रतिशत सहयोगमा सडकको कालोपत्रे गरिन लागिएको हो ।
वर्षातको समयमा सडकको चौडा र कालोपत्रे गर्ने काम थालिएको थियो । भत्किएको कालोपत्रे, टिप्परको मनपरी र सडकमा परेको खाण्डाखुल्डीले जिरोकिलो–मेलम्ची सडकखण्डमा यात्रा गर्ने यात्रुले सास्ती व्यहोर्न वाध्य छन् । काभ्रेको उत्तरी भेग र सिन्धुपाल्चोक जिल्लाका प्रायः स्थान जोडिने जिरोकिलो–हेलम्बु सडक जीर्ण भन्दै गएपछि स्थानीय भने चिन्तित देखिएका छन् । ५ वर्षअघि मेलम्ची खानेपानी आयोजनाले पिच गरेको उक्त सडक हाल पूर्ण रूपमा कच्ची बनेको छ ।
उसोत सिन्धुपाल्चोक र काभ्रे देउपुरमा अनाधिकृत रुपमा संचालित अधिकांश क्रसर उद्योगका ट्रिफरको आवातजावतले कालोपत्रे सडक खाल्डाखुल्डी भएको स्थानीयको आरोप छ । ढुंगा, गिट्टी र बालुवा बोकेका ट्रिपर गुड्दा वर्ष दिनअघि कालोपत्रे गरिएको उक्त सडक काम नलाग्ने भएको हो ।
यसअघि ५५ करोड रुपैयाँ लगानी सडक विभागले कालोपत्रे गर्न र सडक सुधारमा खर्चेको थियो ।
ईन्द्रावतीमा उत्खनन् भएका नदीजन्य बालुवा, ढुंगा र गिट्टी ढुवानी गरिरहेका ट्रिपर, ट्रकलाई रोकेर स्थानीयले पटक पटक विरोध गरिरहेका छन् । सम्बन्धित पक्षले सुनुवाई नगरेको स्थानीयको भनाई छ ।
मेलम्ची सडक खण्डमा ठाउँठाउँमा क्षतिग्रस्त भएकाले यात्रु सवारीभित्र घाइते हुने अवस्था छ । सिन्धुपाल्चोकको मेलम्चीदेखि काभ्रेको जिरोकिलोसम्म सडक खाल्डाखुल्डीले भरिएकाले धेरै दुर्घटना हुने गरेको फट्केश्वरका एक स्थानीयले बताए ।
उनका अनुसार निर्माण कम्पनीको कालोपत्रेमा कम गुणस्तर त छँदैछ त्यसमाथि ट्रिपरले बोकेका निर्माण सामाग्री बालुवाको पानि चुईएर पनि बढी खाल्डाखुल्डी हुन गएको हो । त्यस्तै क्रसर उद्योगीहरुले समेत सडकलाई असर गर्ने गरी निर्माण सामग्री थुपारेका छन् ।
मेलम्ची सडक निर्माणमा कम गुणस्तर भएको प्रति जिल्लाका नेताहरुले समेत कम चासो दिएको स्थानीयको आरोप छ । सडक कालोपत्रे गर्ने जिम्मा लिएको निर्माण कम्पनीसंग भने सम्पर्क हुन सकेन् ।