
चौतर्फी दवाव आएसंगै सरकारले परीक्षण र उपचार निःशुल्क गरिदिने

२४ कात्तिक, काठमाडौं । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अन्यले भने आफ्नै खर्चमा गर्नुपर्ने यसअघिको निर्णयलाई सच्याएको हो । सरकाररको निर्णय अनुसार अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ । सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उच्याउन दबाब परेको थियो । त्यस्तै सरकारले सर्वसाधारणको उपचार नगरेको भन्दै उसलाई चौतर्फी आलोचना भएको थियो । प्रदेश सरकारले भने यसअघि नै आफ्ना मातहातका प्रदेशहरुमा कोभिड–१९ का बिरामीहरुको निशुल्क उपचार गरिदिने निर्णय गरेपनि कार्यान्यन भने हुन सकेको थिएन ।