सिन्धुपाल्चोकका पुरातात्विक गुम्बाहरु करौडौंको लगानिमा पुनर्निर्माण हुँदै

असोज २८, काठमाडौं । २०७२ सालको महाभूकम्पले ध्वस्त बनाएका सिन्धुपाल्चोक जिल्लाका गुम्बाहरु पुनर्निर्माण सुरुवात हुने भएको छ ।
पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका पुरातात्विक महत्वका ५ वटा ऐतिहासिक गुम्बाहरु निर्माण कार्यका सुरुवात चरणमा असोज २८ गते टेण्डर सुचना प्रकाशित भएको हो ।
भारतको कर्णाटक राज्य सरकारले भारतीय दुतावासको सहयोगमा नेपालका साँस्कृतिक तथा पुरातात्विक महत्वका संरचनाहरुको पुनर्निर्माण गर्ने कार्य अन्र्तगत करोडौंको लगानीमा यो कार्य सुरु हुन लागेको हो ।
भूकम्प पश्चात सिन्धुपाल्चोकका पुरातात्विक महत्वका गुम्बाहरुको पुनर्निर्माणको लागी बिगत ५ वर्षदेखी पूर्व कानुनमन्त्री एवम सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ का संघीय सांसद शेर बहादुर तामाङ, पूर्व अर्थ राज्यमन्त्री एवम संविधान सभासद डा.ल्हार्क्याल लामा, बागमती प्रदेश सांसद निमा लामा अहोरात्र खटिएका थिए । उनीहरुकै विशेष पहलमा बजेट पर्न सफल भएको थियो । ‘आफुहरुको विगत लामो समय देखिको मेहनतको फल स्वरुप सिन्धुपाल्चोकका ऐतिहासिक एबम पुरातात्विक महत्वका गुम्बाहरुको पुनर्निर्माण हुन लागे हो’, सांसद सांसद तामाङले भने । जनताको चाहाना अनुसार बजेट पार्न सकिएकोमा आफुलाई अत्यन्त खुशी लागेको पूर्वमन्त्री समेत रहेका सांसद तामाङले धन्यवाद समेत दिए ।

त्यसैगरी पूर्व अर्थराज्यमन्त्री एबम ह्योल्मो समुदायको प्रथम खेन्पो बौद्ध मार्गिहरुका धर्मगुरु समेत रहेका डा.ल्हारक्याल लामाले आर्थिक सहयोग गर्ने भारत सरकारप्रति हार्दिक आभार प्रकट गरे । सिन्धुपाल्चोकका उत्तरीभेगमा अवस्थित ऐतिहासिक गुम्बाहरुको पुर्ननिर्माण हुने खबरले आफुहरु अत्यन्त हर्षित भएको उनले सुनाए । मेलम्ची घ्याङ निवासी सेरप लामा र सुलिकोट घ्याङ निवासी ग्युर्मे लामाले गुम्बा निर्माण हुने प्रक्रियाले केही परिवर्तन आउने बताउँछन ।
ऐतिहासिक गुम्बाहरु पुनर्निर्माण गर्नका लागि पुनर्निर्माण प्राधिकरणका प्रमुख शुशिल ज्ञवाली, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, निरन्तर अगुवाई गर्ने पुनर्निर्माणका सहसचिव श्याम सिंह, डिजाईनको अगुवाई गर्ने केन्द्रीय कार्यान्वन ईकाई (भवन)का सिडिई कोषनाथ अधिकारी, पुरातत्व विभागबाट निरन्तर पुरातात्विक हिसाबले नेतृत्व गर्नुहुने गोपाल भट्टराई र जिल्ला कार्यान्वयन ईकाई (भवन)का प्रमुख ई.सन्तोष निरौलाको महत्वपूर्ण भूमिका रहेको बताईन्छ ।
त्यसैगरी गुम्बाको स्ट्रक्चरल डिजाईनमा ई. गम्भीललाल श्रेष्ठ, गुम्बाको मुर्ती तथा थाङ्का लगायत आन्तरिक डिजाईन गर्न सघाउने लामा छिरिङ लामा (चिरी), लामा सार्की (सेर्माथाङ) लगायतको महत्वपूर्ण भूमिका समेत रहेको बताइन्छ ।
सांसद तामाङका अनुसार अबको केहि समय पश्चात नवलपुर गुम्बा र लिस्ति गुम्बाको टेन्डर प्रकृया सुरु हुनेछ । अन्य केही गुम्बाको पुर्ननिर्माण कार्य पनि यसै आर्थिक वर्षमा सुरु हुने सांसद तामाङले बताए ।
यि हुन् निर्माणका लागी टेण्डर सुचना प्रकाशित भएका गुम्बाहरुः
१. चिरी घ्याङ गुम्बा,
२. तार्केघ्याङ गुम्बा,
३. सुलीकोटघ्याङ गुम्बा मेलम्ची,
४. सेर्माथाङ घ्याङ गुम्बा र
५. मेलम्ची घ्याङ गुम्बा,