फेरी दुःखद खबर बाह्रबिसे नगरपालिका ७ नाकुजेमा भिषण पहिरो, गाउँनै बगाउँदा २० जना माथिको ज्यान गएको हुन सक्ने

भदौ २८, बाह्रबिसे (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकलाई फेरी पनि बज्रपात परेको छ । गएराति बाह्रबिसे नगरपालिकाको वडा नम्बर नाकुचेमा आएको भिषण पहिरोमा एउटा गाउनै भोटेकोशीमा परेको छ । त्याँहा कम्तिमा २० देखि २५ जनाको ज्यान पहिरोमा पुरिएको हुन सक्ने आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालाई बताए । ‘ठूलै मानवीय क्षति भएको हुन सक्ने खवुर सुनेर घटना स्थलतर्फ जाँदै छु’, मेयर शेर्पाले जानकारी दिए । उक्त वडा ७ नम्बर वडा पर्दछ । वडाका अध्यक्ष मिनबहादुर श्रेष्ठ हुन् । उनको समेत त्याहाँ घर पर्दछ । पहिरोमा आफ्नो घर समेत परेको उनले जानकारी दिए । बेलुका आफु घुम्थाङमा बसेकाले के कति क्षति भएको कुरा यकिन नभएको उनले बताए ।

त्याहाँ १० घर थियो अब एउटा मात्रै बाँकी छ भनेको सुनेको छु वडा अध्यक्ष श्रेष्ठले सिन्धुज्वालासंग भने । घटना राति भएको हुनाले उदारका लागि कोही पनि पुग्न सकेका छैन । बिहान खबर पाएपछि बाह्रबिसे ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नवराज न्यौपानेको नेतृत्वमा प्रहरी टोली घटना स्थल गएको छ । बीच बीचमा बाटो अवरोधका कारण समयमै पुग्न कठिन भएको प्रहरी निरिक्षक न्यौपानेले बताए ।