सिन्धु कांग्रेसमै देखियो असन्तुष्ट, क्रियाशीलता बिना विभागको केन्द्रीय सदस्य

चौतारा -सिन्धुपाल्चोक_ । नेपाली कांग्रेस सिन्धुपाल्चोकका कार्याकर्ताले पार्टीका नेतृत्वले गरेको कार्यशैली प्रति असन्तुष्ट देखिएका छन् । उनीहरुले केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको दबाबमा सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको क्रियाशील सदस्य नै नभएका दुई जनालाई विभागको केन्द्रीय सदस्य बनाएपछि असन्तुष्ट भएका हुन् । पार्टीमा क्रियासिल नै नभएका व्यक्तिलाई पार्टी विभागको केन्द्रीय सदस्य बनाउने कुरा हामीलाई चित्त बुझेको छैन्–सिन्धुपाल्चोककै कांग्रेसमा क्रियासिल एक सदस्यले भने ।
उनका अनुसार पार्टी नीति विपरीत क्रियाशील सदस्य नभएका बराम्ची निवासी नबिन्द्र लामा र धुस्कुन निवासी मसिना खड्का भण्डारीलाई विभागको केन्द्रीय सदस्य बनाइएको हो । लामालाई यातायात समन्वय विभाग र भण्डारीलाई उद्योग वाणिज्य विभागको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
पार्टीमा सधैँ खट्ने कतिपय नेता तथा कार्यकर्तालाई थाहै नदिई क्रियाशील सदस्य नभएकालाई विभागको केन्द्रमा नियुक्ति गरेपछि जिल्ला पार्टीमा ठूलो हलचल पैदा भएको उनले बताए ।
लामो समय पार्टीमा काम गरेका, त्याग गरेका र संगठनका लागि अहोरात्र खट्नेलाई पछाडि धकेलेर स्वार्थका लागि पार्टी हित र नीति विपरीत पदका लागि दबाब दिने पार्टी नेता बस्नेतको काँग्रेस सिन्धुपाल्चोकमा व्यापक आलोचना भइरहेको उनले जनाए । ति कार्यकर्ताको अनुसार भण्डारीले नेता बस्नेतलाई ठूलो आर्थिक सहायता गर्दै आएको उनको दावी छ । उता लामा भने जुगल गाउँपालिकाको अध्यक्षमा प्रत्यासी जयबहादुर लामाका भाइ भएकोले सिधै विभागको केन्द्रीय सदस्यमा लगिएको बुझिएको छ ।
जिल्ला पार्टीसँग सल्लाह नै नगरी आफूखुसी पार्टीको पद बाँडफाँड गर्न दबाब दिने पूर्वमन्त्री बस्नेतको सिन्धु कांग्रेसमा चर्को विरोध भएको जिल्ला सदस्यहरुले बताएका छन् । जिल्ला पार्टीको अधिवेशनको बेला हरेक पाँचपाँच वर्षमा क्रियाशील सदस्य वितरण गरिन्छ । क्रियाशील सदस्य पाएकाले मात्रै विभागको केन्द्रीय सदस्य प्राप्त गर्ने हैसियत राख्छन् । जिल्ला पार्टी सभापति विकास लामाले विभाग गठन नै पार्टी विधानविपरीत भएको बताए । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कुरा नमिलेको भएपनि विभाग गठन गरिएको लामाको भनाइँ थियो । ‘भण्डारी र लामालाई विभागको केन्द्रीय सदस्य बनाउने अधिकार नेता बस्नेतलाई छैन,’ उनले भने ।